पर्वतमा ११ दिने कृषि तथा पर्यटन प्रवर्धन महोत्सव सुरु

सफल खबर संवाददाता

शुक्रबार, ०६ जेठ २०७९, ११ : ०२
पर्वतमा ११ दिने कृषि तथा पर्यटन प्रवर्धन महोत्सव सुरु

काठमाडौँ । कोभिड–१९ महामारीका कारण लामो समयदेखि सुस्त  रहेको कृषि तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन पर्वत सदरमुकाम कुस्मा बजारमा शुक्रवारदेखि पर्वत कृषि तथा पर्यटन प्रवर्धन महोत्सव  हुने भएको छ।

राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा ११ दिने महोत्सवको आयोजना गरिएको प्रतिष्ठानका प्रमुख संरक्षक नवराज गुरुङले जानकारी दिए। कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको खेल मैदानमा आयोजना गरिएको महोत्सवको शुक्रवार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहान ११ बजे उद्घाटन गर्ने छन्।

महोत्सवमा २०० वटा व्यावसायिक स्टल निर्माण गरिएको छ, जसमा कृषिको प्रवर्धनका लागि भन्दै पाँच स्टल निःशुल्क रूपमा उपलब्ध गराउन लागेको  आयोजकले जानकारी दिएको छ। स्टलको भाडा १३ हजार ५०० रुपैयाँ तोकिएको छ। स्थानीय व्यवसायी भए २५ प्रतिशत छुट दिने महोत्सवका संयोजक शिव उचै ठकुरीले बताए।

महोत्सवमा जिल्ला स्तरीय खुला भलिबल प्रतियोगिता हुनेछ भने राष्ट्रिय कलाकारद्वारा सांगीतिक प्रस्तुति दिनेछन्। ​कुलेन्द्र बिक, बिमलराज क्षेत्री, एलिना चौहान, ज्योति मगर, पशुपति शर्मा, खुमन अधिकारी, प्रकाश दूतराज र प्रीति आले लगायतदोहोरी कलाकारसहित सुगम र हिपहप कलाकार महोत्सवका आकर्षण रहने बताइएको छ।

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जिल्लाका सातै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाअध्यक्षलाई बधाइ ज्ञापन गर्ने कार्यक्रम पनि महोत्सवमा सञ्चालन गर्ने भनिएको छ।

महोत्सवबाट आम्दानी भएको रकमबाट कार्यक्रम आयोजना गरिएको बडागाउँ खेल मैदानमा शौचालय निर्माण गर्ने, मैदान व्यवस्थापनमा सघाउने र नेपाल पत्रकार महासंघ पर्वत शाखालाई आवश्यक पर्ने सामग्री हस्तान्तरण गर्ने योजना राखिएको छ। 

यसबाहेक प्रतिष्ठानले अस्पताल निर्माणको बारेमा पनि प्रयास गरिरहेको प्रतिष्ठानका संरक्षक गुरुङ बताउँछन्। महोत्सवमा राखिएको जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिताको विजेता टोलीले एक लाख एक हजार रुपैयाँ, दोस्रोले ५५ हजार रुपैयाँ, तेस्रोले ३० हजार रुपैयाँ र सान्त्वना हुने टोलीले १५ हजार रुपैयाँ पाउने गरी पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस