विवादमा पूर्व मिस नेपाल माल्विका सुब्बा

सफल खबर संवाददाता

विहीबार, ०५ जेठ २०७९, १२ : ०६
विवादमा पूर्व मिस नेपाल माल्विका सुब्बा

काठमाडौं ।पूर्व मिस नेपाल माल्विका सुब्बा यतिवेला विवादमा तानिएकी छिन्। यौनहिंसाबाट पीडित युवतीले सहयोग माग्दा बेवास्ता गरेको बताएपछि माल्विका विवादमा तानिएकी हुन्। 

एउटा सुन्दरी प्रतियोगिताबाट शुरु भएको यौनहिंसाको शृंखला आफूले लगातार ७ वर्षसम्म भोग्नुपरेको पीडित युवतीले भिडियोमार्फत बताएकी छन्। केही दिनअघि टिकटकबाट सार्वजनिक भएका भिडियोहरू यतिवेला भाइरल भइरहेका छन्। टिकटकबाट भने भिडियो सहित अकाउन्ट नै डिलिट भएको छ। 

भिडियोमा नै उक्त युवतीले आफूले सहयोग माग्दा असंवेदनशील व्यवहार देखाउँदै पूर्व मिस नेपाल सुब्बाले सहयोगका लागि अस्वीकार गरेको बताएकी छन्। उक्त भिडियोपश्चात् सामाजिक सञ्जालमा सुब्बाको चर्को आलोचना भइरहेको छ। 

उनलाई फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा उनकै फलोअरबाट बोल्नका लागि दबाब आइरहेको छ। सुब्बाबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन। यो केसमा सुब्बासहित केही पत्रकार, फोटो पत्रकार र सुन्दरी प्रतियोगिता सञ्चालकको नाम पनि जोडिएको छ। 

पीडित युवतीले भिडियोमार्फत नै अब कानुनी प्रक्रियाका लागि तयार रहेको बताएकी थिइन्। भिडियो सहित उनको अकाउन्ट नै डिलिट हुनुले जनचासो थप बढेको छ। 

प्रतिक्रिया दिनुहोस