भोलिदेखि संघीय संसदको दुवै सदनमा प्रि–बजेट छलफल शुरु हुने

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १४ : ३१
भोलिदेखि संघीय संसदको दुवै सदनमा प्रि–बजेट छलफल शुरु हुने

काठमाडौं ।भोलि अर्थात् मंगलबारदेखि आगामी आर्थिक वर्ष २०७९/८० को प्रि–बजेटका बारेमा संघीय संसदको दुबै सदनमा छलफल सुरु हुने भएको छ । स्थानीय निर्वाचन, २०७९ का कारण प्रभावित हुन पुगेको प्रि–बजेट छलफलका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजेका लागि संघीय संसदको दुबै अधिवेशन आह्वान गरेकी हुन् ।

वैशाख २६ गते मन्त्रिपरिषद्को निर्णयले बजेटका लागि जेठ ३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । ढिला गरी मंगलबार बस्ने संघीय संसदमा आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम, सिद्धान्त तथा प्राथमिकताको विषयमा छलफल हुनेछ ।

यस्तो छलफलका लागि अर्थमन्त्रालयले बजेट तालिकाअनुसार वैशाख २० गते नै संसदमा प्रि–बजेट छलफलका लागि प्रस्ताव पेस गर्ने कार्यतालिका बनाएको थियो । तर, निर्वाचनका कारण प्रभावित हुन पुगेको छलफल आगामी मंगलबारबाट नियमित सञ्चालन हुनेछ 

संविधानतः आर्थिक वर्षको बजेट अघिल्लो वर्षको जेठ १५ गतेभित्र ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । जुन समय सीमाका हिसावले आर्थिक वर्षको बजेटका लागि अब सरकारसँग १३ दिन मात्र बाँकी रहेको छ । यस अवधिमा बजेट निर्माणका सम्पूर्ण काम सकेर जेठ १५ गते सरकारले संघीय संसदको दुबै सदनबाट बजेट जारी गर्नेछ । 

प्रतिक्रिया दिनुहोस