शुक्रबारदेखि 'लाइफ इन एलए' प्रदर्शनमा आउँदै

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १० : ३८
शुक्रबारदेखि 'लाइफ इन एलए' प्रदर्शनमा आउँदै

काठमाडौँ। केही उद्योग पहिलेको लयमा फर्किइसकेका छन् भने केही अझै लयमा फर्कने प्रयासमा छन्। नेपाली फिल्म उद्योग पनि अझै लयमा फर्कने प्रयासमा छ। दुई वर्षदेखि प्रदर्शन हुन नपाएका धेरै फिल्म यतिवेला होल्डमा छन्। जो प्रदर्शनको लागि अनुकुल मितिको पर्खाइमा छन्। त्यस्तै हरेक महिना ठूलो लगानीमा बनेका बहुप्रतिक्षित विदेशी फिल्महरू पनि प्रदर्शनमा आइरहेका छन्। यस्तोमा हलमा कुनै न कुनै फिल्मको दबदबा सधैँ नै हुन्छ। 

कोरोना महामारीपछि प्रदर्शनमा आएका दर्जनबढी फिल्म मध्ये जम्मा दुई वटा फिल्म 'म यस्तो गीत गाउँछु २' र 'ए मेरो हजुर ४' लगानी सुरक्षित गरेर नाफामा गए। यी बाहेक 'चपली हाइट ३', 'लप्पन छप्पन २', 'चिसो एष्ट्रे' 'मन्त्र', 'षटकोण', 'लक्का जवान' जस्ता फिल्मलाई एक हप्ता हलमा टिकिरहन पनि गाह्रा पर्यो। 

शुक्रबारदेखि नयाँ नेपाली फिल्म 'लाइफ इन एलए' प्रदर्शनमा आउँदैछ। नेपाल र अमेरिकामा छायांकन गरिएको फिल्ममा बास विसु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। ठूला देशका ठूला सहरमा नेपाली युवाको जीवन शैली र भोगाइ रहेको फिल्मलाई बास विसुले नै लेखेका हुन् भने फिल्मका लगानीकर्ता समेत हुन्। 

गत महिना सार्वजनिक भएको फिल्मको ट्रेलरले खासै चर्चा बटुल्न सकेको छैन। प्रदर्शनलाई लिएर मुख्य कलाकारमै पनि उत्साह देखिएको छैन। निर्माण टोलीका अनुसार फिल्मले आधा भन्दा बढी लगानी प्रदर्शन अघि नै सुरक्षित गरिसकेको छ तर हलमा भने कस्तो प्रदर्शन गर्छ हेर्न बाँकी छ। 

प्रतिक्रिया दिनुहोस