काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलस्थित दुईवटा मतदान केन्द्रमा ७ घण्टादेखि अवरुद्ध मतदान दिउँसो ३ बजेदेखि सुचारु भएको छ। पटकपटकको झडपका कारण बिहान ८ बजेदेखि मतदान कार्य अवरुद्ध भएको हो।
मतदान केन्द्रमा सेनालाई पहिलो घेरामा राखेर दिउँसो ३ बजेबाट मतदान कार्य सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।‘अब ५ बजेसम्म मतदान स्थलको घेराभित्र प्रवेश गरिसक्ने मतदाताले मतदान गर्न पाउनेछन्,’ प्रजिअ अधिकारीले भने।
विवाद र झडपमा उत्रिएका विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु सुरक्षाकर्मीले बल प्रयोग गरेपछि भने उनीहरुमाथि नै जाइलागेका थिए। शुक्रबार बिहान १५ जना जतिले मतदान गरेपछि कांग्रेस, एमाले र माओवादी कार्यकर्ताबीच विवाद भएको थियो । विवादले झडपको रुप लिएपछि सुरक्षाकर्मीले मतदानस्थल नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको थियो। स्थिति नियन्त्रणमा नआएपछि सुरक्षाकर्मीले हवाई फायर गरेका थिए।स्थिति नियन्त्रणमा नआएपछि मतदानस्थलबाट सुरक्षाकर्मी र निर्वाचनमा खटिएका मतदान अधिकृत सहितको टोली निर्वाचन सामग्री बोकेर निर्वाचन अधिकृतको कार्यालय धनकौल पुगेको थियो। उनीहरु गएलगतै प्रदर्शनकारीहरुले मतदानस्थलमा आगलागी समेत गरे।
केहीबेर अघि मतदान स्थललाई सेनाको नियन्त्रणमा राखेर मतदान कार्य सुचारु गराइएको छ ।जिल्लास्थित अधिकांश मतदान केन्द्रहरुमा भने मतदान कार्य सुचारु छ।सर्लाहीमा ३१८ मतदान स्थल अन्तर्गत ५९९ मतदान केन्द्र छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १६ : ३९
लेखकबाट थप