२७ सञ्चारमाध्यमलाई कारबाही

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १० : १९
२७ सञ्चारमाध्यमलाई कारबाही

काठमाडौं । स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन प्रेस काउन्सिल नेपालले २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ। काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेका ती सञ्चार माध्यमलाई क्षमायाचनासहित भुलसुधार गर्न निर्देशन दिएको हो। 

कारबाही गरिएकामध्ये मूलधारका १७ सञ्चार माध्यममले तत्काल क्षमायाचनासहित सम्प्रेषित सामग्री सच्याएका छन्। यस्तै मौन अवधिको २४ घण्टाभित्रै काउन्सिलले २५ पत्रकारलाई सामाजिक सञ्जालमा राखिएका सामग्रीप्रति ध्यानाकर्षण गरेको छ । 

काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले फोनमार्फत ध्यानाकर्षण गरेपछि २० जनाले तत्काल भूलसुधार गरी सामग्री हटाएको जानकारी दिए। पाँच पत्रकारले कुनै प्रतिक्रिया दिएका छैनन्।मंगलबार राति १२ बजेदेखि हालसम्म १३ अनलाइन सञ्चार माध्यम, पाँच पत्रिका, चार टेलिभिजन र तीन रेडियोबाट सम्प्रेषित सामग्री निर्वाचन आचारसंहिता विपरीत देखिएपछि पत्र काटेर हटाउन, सच्याउन र रेडियो तथा टेलिभिजनको हकमा तत्काल रोक्न निर्देशन दिएको काउन्सिलले जनाएको छ।
 

यसैबिच मौन अवधिमा १० ओटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दुर सञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। दर्ता नभएका तथा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताविपरित सामग्री सम्प्रेषण गरेका वेब पोर्टललाई यस्तो कारबाही गरेको बोहराले जानकारी दिए।

निर्वाचन आचारसंहिता लागु भएको मितिबाट निरन्तर सञ्चार माध्यमका सामग्री र पत्रकारका पोष्टहरूमा अनुगमन गरिरहेको काउन्सिलले मौन अवधिमा २४ सै घण्टा निगरानी बढाएको छ। सूचना अधिकारी बोहराले निर्वाचनको अन्तिम ७२ घण्टा अति संवेदनशील हुने भन्दै सर्तक हुन र आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेका छन्। 

प्रतिक्रिया दिनुहोस