मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, ०८ : ००
मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

file Photo

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाका लागि तनहुँमा मतगणनास्थल तयार गरिएको छ । सुरक्षित तरिकाले मतगणना गर्नका लागि जिल्लाका १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरेको हो ।

निर्वाचनपश्चात् मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित अन्य पालिकाकामा तारबारसहित मतगणनास्थल सुरक्षित  पारेर सिसी क्यामेरा पनि जडान गरिएको छ । व्यास नगरपालिकाको मतगणनाका लागि जिल्ला समन्वय समितिको तीनवटा कोठामा मतगणनास्थल तयार गरी एकैपटक मतगणनाका लागि बाँसको घेराबार लगाइएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए । त्यहाँ सिसी क्यामेरा जडान गरिएको छ ।

देवघाटस्थित निर्वाचन अधिकृतको कार्यालयले वडा नं ५ स्थित सभाहलमा मतगणनास्थल तयार गरेको छ । दुई ठाउँमा मत गन्नका लागि गणनास्थल तयार गरिएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिए । घिरिङस्थित निर्वाचन अधिकृतको कार्यालयले गाउँपालिकाको कार्यालय भवनमा मतगणनास्थल तयार गरेको छ । दुई ठाउँमा मत गन्नका लागि गणनास्थल बनाइने निर्वाचन अधिकृत किर्तनराज पौडेलले जानकारी दिए । 

आँबुखैरेनीस्थित निर्वाचन अधिकृतको कार्यालयले पनि गाउँपालिकाकै भवनमा मतगणनास्थल बनाएको छ । फलामको तारजालीले बारेर सिसी क्यामेरा जडान गरी मतगणनास्थल बनाइएको निर्वाचन अधिकृत चिरञ्जीवी पौडेलले जानकारी दिए । यसैगरी मिन माध्यमिक विद्यालयमा तीनवटा कोठामा मतगणनास्थल तयार गरिएको सहायक निर्वाचन अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ४४५ जनप्रतिनिधि निर्वाचित गर्न दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तहको निर्वाचनमा भन्दा यसपटक ४९ हजार ८६९ बढी मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता थिए ।
 

प्रतिक्रिया दिनुहोस