माओवादी केन्द्र नुवाकोटले टुंग्यायो चुनावबाट ककनी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार

सफल खबर संवाददाता

बुधबार, ०७ बैशाख २०७९, ०९ : ०५
माओवादी केन्द्र नुवाकोटले टुंग्यायो चुनावबाट ककनी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकामा माओवादी केन्द्रले आन्तरिक चुनावबाट अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । आकांक्षी धेरै भएपछि ककनी गाउँपालिका कमिटीले आन्तरिक चुनावमार्फत अध्यक्षको उम्मेदवार छानेको हो ।

जसमा गाउँपालिका कमिटीका अध्यक्ष सुमन तामाङ ३४ मतका साथ विजयी हुँदै उम्मेदवार चयन भए । यस्तै मानबहादुर लामाले १८ मत ल्याए भने अर्का दाबेदार शक्ति लामाले जम्मा १ मत ल्याए ।  यसैगरी उपाध्यक्षको उम्मेदवारमा मिठुमाया लामाको नाम टुंगो लागेको अध्यक्षका उम्मेदवार सुमन तामाङले जानकारी दिए । सल्लाहकारसहित कुल ६२ मत रहेको ककनी गाउँपालिका कमिटीमा जम्मा ५३ मत खसेको थियो । 

ककनी गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा माओवादीकै उम्मेदवार मानबहादुर लामा विजयी भएका थिए  । अर्को कार्यकालका लागि पनि उनले आकांक्षा देखाएको भएपनि आन्तरिक चुनावमै पराजित भएपछि उनको चाहना पूरा हुन पाएन । ककनीमा सत्ता गठबन्धनबीच तालमेल भएको अवस्थामा आफूहरुले नेतृत्व पाउनुपर्ने दाबी माओवादी केन्द्रले गरेको छ ।