हेटौंडाको मेयरका लागि गठबन्धनमा अन्योल

सफल खबर संवाददाता

सोमबार, ०५ बैशाख २०७९, १७ : ४०
हेटौंडाको मेयरका लागि गठबन्धनमा अन्योल

हेटौंडा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै मकवानपुरमा चुनावी माहोल तात्न थालेको छ । तर, पनि पाँच दलीय सत्तारुढ गठबन्धनको उम्मेदवारको अझैसम्म पनि टुंगो लाग्न सकेको छ्रैन । 
 
गठबन्धनका दलहरूले हेटौंडा उपमहानगरपालिकाको प्रमुखको लागि आआफ्नो दाबीसहित उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् । सत्ता गठबन्धनका दलहरूले मेयर पदका लागि अडान नछाडेपछि अझैसम्म उम्मेदवार टुंगो लगाउन नसकिएको हो । 

नेकपा एकिकृत समाजवादीले आइतबार मेयर पदको लागि दुई जनाको नाम सिफारिस गरेको छ भने नेपाली कांग्रेसले पनि सोमबार मेयर र उपमेयर पदका लागि तीन/तीन जनाको नाम सिफारिस गरेको छ । 

नेकपा एसले हालकी उपमेयर मीना कुमारी लामा र एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेललाई मेयरमा उम्मेदवार बनाउन सिफारिस गरेको हो । अघिल्लो पटक एमालले जितेको स्थानमा समाजवादीले दाबी गरिरहेको छ । समाजवादीले हेटौंडाका १९ वटै वडाको अध्यक्षहरूमा पनि नाम सिफारिस गरेको छ ।

कांग्रेस हेटौंडा उपमहानगर समितिले हेटौंडाको मेयरमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको छ भने उपमेयरमा अमृता थापा, इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम सिफारिस गरेको छ । 

गठबन्धनको टुंगो लागिसकेपछि कांग्रेस जिल्ला कार्यसमितिले केन्द्रमा सिफारिस गर्ने नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बताए । केही दिनमा नै उम्मेदवारको टुंगो लगाउने उनको भनाइ छ । नेकपा माओवादीले भने आफ्नो तर्फबाट मेयर तथा उपमेयरको नाम सिफारिस गरेको छैन ।

whatsapp sharing button

प्रतिक्रिया दिनुहोस