सत्ता गठबन्धन : केन्द्रमा मेल, स्थानीय तहमा बेमेल

पत्रपत्रिकाबाट

सोमबार, ०५ बैशाख २०७९, ०८ : ०४
सत्ता गठबन्धन : केन्द्रमा मेल, स्थानीय तहमा बेमेल

काठमाडौं । सत्ता गठबन्धन दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा तालमेलका लागि सोमबारसम्म महानगरपालिका र नगरपालिकाको भागबन्डा मिलाउने तयारी गरे पनि ती पार्टीका स्थानीय तहका समितिमा भने समस्या उत्पन्न भएको छ।

स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डा नमिलेपछि समस्या उत्पन्न भएको हो। केन्द्रमा गठबन्धन दलका शीर्ष नेताहरूले चुनावी तालमेल गर्ने भने पनि त्यसलाई स्थानीय तहका नेता–कार्यकर्ताले अस्वीकार गरेको अवस्था छ।

माओवादी केन्द्रले यसअघि जितेका सबै स्थानीय तहमा आफ्नो दाबी गरेको छ। कांग्रेसले पनि यसअघि जितेका र निकट भएर हारेका स्थानीय तहमा पनि दाबी गरेको छ। त्यसैगरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी ९नेकपा एस० ले पनि यस्तैखाले दाबी गरेको छ। कांग्रेस र माओवादी दुवैले नेकपा एसलाई सहयोग गर्ने अवस्था भए पनि केही खास स्थानमा भने असहयोग हुने अवस्था रहेको छ।

धेरै स्थानमा कांग्रेस र माओवादी दुवैले आ–आफ्नो अडान छाडेका छैनन्। भरतपुर महानगरपालिका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको संसदीय निर्वाचन क्षेत्रअन्तर्गत पर्ने भएका कारण पनि प्रतिष्ठाको विषय बनिरहेको छ। तर कांग्रेस भरतपुरका कार्यकर्ताले सधैं भोट अर्को पार्टीलाई हाल्दा आफ्नो अस्तित्व रक्षा नहुने भन्दै भरतपुरमा यसपटक स्वतन्त्र भए पनि उम्मेदवारी दिने धम्की दिइरहेका छन् । नागरिक दैनिकमा खबर छ ।