बन्दीपुर सडक खाना महोत्सवमा ५० हजार पर्यटक

सफल खबर संवाददाता

शनिबार, ०३ बैशाख २०७९, ११ : ०४
बन्दीपुर सडक खाना महोत्सवमा ५० हजार पर्यटक

  काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित सडक खाना महोत्सवमा करीब ५० हजार पर्यटकले अवलोकन गरेका छन् ।

नयाँ वर्षका अवसरमा ३ दिनसम्म सञ्चालन भएको महोत्सवका ५० हजार पर्यटक बन्दीपुर पुगेका हुन् । चैत ३० गतेदेखि शुरू महोत्सव शुक्रवार सकिएको छ । महोत्सव अवलोकनका लागि ५० हजार पर्यटक बन्दीपुर पुगे पनि बेलुका बास बस्ने पर्यटकको संख्या भने न्यून रहेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए ।

‘दिउँसो आउनेको संख्या अत्यधिक रह्यो, ३ दिनको अवधिमा बन्दीपुरमा पर्यटकको भीड रह्यो, बास बस्नेको संख्या भने कमै भयो,’ प्रधानले भने । उनका अनुसार बास बस्ने पर्यटकको संख्या दैनिक २ हजार रहेको थियो । बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी संघ बन्दीपुर र तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुरको संयुक्त आयोजनामा महोत्सव सञ्चालन गरिएको थियो । बन्दीपुरमा अहिले पर्यटकको उत्साहजनक आगमन नभए पनि नयाँ वर्षसँगै पर्यटकको आगमन वृद्धि हुनेमा व्यवसायी विश्वस्त छन् ।

सडक खाना महोत्सवमा स्थानीय चुड्का, कौरा, डोको, लाखे नाच प्रदर्शन गरिनुका साथै ‘दि इन्ट्रो व्याण्ड’को प्रस्तुति रहेको थियो । बन्दीपुरमा होटल संघसँग आवद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा छन् । 

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरि लगायतका हिमशृंखला देखिन्छन् । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानिवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलमा आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । 

 

प्रतिक्रिया दिनुहोस