जनप्रतिनिधि बन्न युवाको आकांक्षा बढ्दो

सफल खबर संवाददाता

शनिबार, ०३ बैशाख २०७९, ११ : २५
जनप्रतिनिधि बन्न युवाको आकांक्षा बढ्दो

  काठमाडौं । धेरै पालिकाहरुमा युवाहरुले जनप्रतिनिधि बन्न आकांक्षा देखाएका छन् । ३५ वर्षभन्दा मुनिका युवाहरुको जनप्रतिनिधि वन्न देखिएको दौडधूपले महोत्तरीमा रौनक देखिएको छ । बर्दिबास नगरपालिकाका वडा–१ का  अध्यक्षका आकांक्षी निरज अधिकारी र सौरभ खडका यसपालिको सत्ता सञ्चालन  युवाहरुले गर्नुपर्ने बताउँछन् । पाटीभित्र अग्रज धेरै भएपनि युवाहरुले सकारात्मक सोच र समृद्धिका लागि नवीन योजना बनाउन सक्ने उनीहरुको भनाइ छ ।

‘पार्टीले युवाहरुलाई अग्रसर बनाएर नयाँ राजनैतिक धारको बिकास गर्नुछ भने विकासका आधारहरू तयार गरेर रोजगारी सिर्जना गर्नु छ’ उनीहरु दुबैको साझा भनाइ छ । त्यस्तै बर्दिबास–१०, ११ तथा वडा न.३ मा पनि युवाहरुले वडा अध्यक्षका लागि दाबी गरेका छन्। वडा न.३ का गणेश बस्नेत, पूर्णबहादुर, नर बहादुर खनाल लगायतले  आकांक्षा देखाएका छन् ।अकांक्षीहरुमध्ये छोटो समयमा नै राजनीतिक भूमिकाबाट छुट्टै छाप छोड्न सफल युवा नेता गणेश बस्नेतको निक्कै चर्चा छ । स्थानीयले पार्टीभन्दा पनि ब्यक्तिको क्षमता र सोचलाई हेरेर आफ्नो मत प्रयोग गर्ने बताइरहेका बेला युवा सहभागितालाई महत्वपूर्ण ढंगले हेरिएको छ ।

यसैबीच नेपाली काँग्रेसले जिल्लाको उत्तरी क्षेत्र बर्दिबास नगरपालिकामा केही वडाहरूमा उम्मेदवार टुंगो लगायत पनि अन्य पालिकाहरुमा प्रक्रियामा नै छ । नेपाली काँग्रेसका नेता चिरञ्जिवी हमालका अनुसार शनिबार बेलुकासम्म उम्मेदवार टुंगो लगाएर सिफारिस भएका नामहरू जिल्लामा बुझाउने कार्यक्रम छ । यता नेकपा एमाले भने अझै अलमलमा  छ । आंकाक्षीहरुको संख्या अत्याधिक भएको कारणले उम्मेदवार टुंगो लगाउन नसकिएको नेकपा एमाले महोत्तरीका सचिव सीताराम झाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस