बागमती प्रदेश : दुर्घटनामा परी एक वर्षमा ३६० को मृत्यु

पत्रपत्रिकाबाट

शनिबार, ०३ बैशाख २०७९, ०७ : ४८
बागमती प्रदेश : दुर्घटनामा परी एक वर्षमा ३६० को मृत्यु

काठमाडौं । विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन्।

कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो। यस्तै तीन हजार ३८९ जना घाइते भएका छन्। घाइतेमध्ये दुई हजार ५२० सामान्य र ८६९ जना गम्भीर घाइते भएको कार्यालयको तथ्याङ्कले जनाएको छ।

गत वर्ष वैशाखमा भएको १३५ दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको थियो। ती दुर्घटनामा २३१ घाइते भएका थिए। जेठमा भएका ८७ दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने १३० घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

कार्यालयका अनुसार असारमा भएका १२३ दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो। सोही दुर्घटनामा २१२ घाइते भएका थिए। साउनमा १५० दुर्घटनामा २४ जनाको मृत्यु भयो भने २४२ घाइते भएका छन्। यस्तै भदौमा भएका ११८ दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका थिए। दुई सय ७८ जना घाइते भएका थिए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।