टोलीको रणनीति तयार छ, हामी टप फाइट दिन्छौं: प्रशिक्षक अब्दुल्लाह

सफल खबर संवाददाता

शुक्रबार, ०२ बैशाख २०७९, १२ : ०६
टोलीको रणनीति तयार छ, हामी टप फाइट दिन्छौं: प्रशिक्षक अब्दुल्लाह

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसिया कपको लागि नेपाली टोलीको रणनीति तयार भएको र टप फाइट दिने बताएका छन् ।उनले सत्यताअनुसार नेपाली टिम एसिया कपमा स्थान बनाउन नसक्ने बताउँदै नेपाली टोलीको रणनीति तयार रहेको र टप फाइट दिने बताएका हुन् ।शुक्रबार दशरथ रंगशालामा अब्दुल्लाहले भने, ‘हाम्रो समूह निकै बलियो छ । सत्यता यो नै हो । हामी छनोट हुन सक्दैनौं ।’

समूहमा बलियो टोली रहेको र छनोट पार गर्न असम्भव रहेको उनले सुनाए । उनले नेपालमा केही समय अभ्यास गरेर कतारमा बन्द प्रशिक्षण गर्ने र केही अभ्यास खेलपछि कुवेत जाने जानकारी दिए ।

एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि शुक्रबारबाट नेपाली राष्ट्रिय टोलीले दशरथ रंगशालामा आफ्नो प्रशिक्षण सुरु गरेको छ । पहिलो दिनको प्रशिक्षणमा कप्तान किरणकुमार लिम्बू र देवेन्द्र तामाङबाहेक अन्य खेलाडीको उपस्थिति रहेको छ । किरण र देवेन्द्र पारिवारिक कारण उपस्थित भएनन् । किरण माल्दिभ्सको शीर्ष डिभिजन लिगमा व्यस्त छन् ।

छनोटको समूह ‘ए’ मा नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरियतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतमा हुनेछन् ।नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटका लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

नेपाली टोली

गोलकिपर : किरणकुमार लिम्बू (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
रक्षक : अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी
मिडफिल्डर : आयुष घलान, मनिष डाँगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई
स्ट्राइकर : विमल घर्तीमगर, अञ्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ

प्रतिक्रिया दिनुहोस