विराटनगरको मेयरमा एमालेबाट सात जना आकांक्षी

सफल खबर संवाददाता

सोमबार, २८ चैत्र २०७८, १४ : ४३
विराटनगरको मेयरमा एमालेबाट सात जना आकांक्षी

काठमाडौँ । विराटनगर महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट सात जना आकांक्षी देखिएका छन्। एमाले महानगर कमिटीले मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको महानगर कमिटी अध्यक्ष सागर थापाले जानकारी दिए।अध्यक्ष थापासहित रामलाल केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, खेलकुद महासंघका अध्यक्ष कृष्ण बस्नेत ‘परशुराम’, प्रदेश कमिटी सदस्य महेश भट्टराईको नाम मेयरका लागि सिफारिस गरिएको हो।

महानगर कमिटीले पाँच जनाको नाम सिफारिस गरे पनि एमाले प्रदेश कमिटीले भने विराटनगर महानगरका लागि दुई जनाको नाम सिफारिस गरेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार प्रदेश कमिटीले पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे र पूर्व राष्ट्रियसभा सदस्य खेम नेपालीको नाम सिफारिस गरेको हो।प्रदेश कमिटिका अध्यक्ष तुलसी न्यौपानेले भने प्रदेशले नाम सिफारिस नगरेको दाबी गरे। अध्यक्ष न्यौपानेले यस विषयमा छलफल नभएको र नामका विषयमा कुरा नभएको जिकिर गरे।

यद्यपि मेयरका आकांक्षी नेपालीले आइतबार भएको प्रदेश भेलाले नाम सिफारिस गरेको जानकारी दिए। उनले भने, ‘हिजोको दिनमा मन्त्री भएकाहरु समेत मैदानमा देखिएका छन्। स्थानीय तहमा गरिने विकास निर्माणदेखि जनताको पीरमर्का बुझेर काम गर्न सकिन्छ। जसका कारण मेरो पनि दाबेदारी रहेको छ।’

यस्तै पार्टीले निर्णय गरेको खण्डमा मान्नु पर्ने अवस्था आउने पूर्वमन्त्री घिमिरेको भनाइ छ। ‘स्थानीय पदका लागि छलफल सुरु हुने क्रम भएको छ। यसक्रममा आफ्नो इच्छा भन्दा पनि पार्टीले गर्ने निर्णयलाई अनादर गर्न सकिन्न,’ उनले भने।

प्रतिक्रिया दिनुहोस