बुकिङ खुलेसँगै हलमा 'केजिएफ च्याप्टर २' काे दबदबा सुरु

सफल खबर संवाददाता

सोमबार, २८ चैत्र २०७८, १४ : ०१
बुकिङ खुलेसँगै हलमा 'केजिएफ च्याप्टर २' काे दबदबा सुरु

बिहीबारदेखि प्रदर्शनमा आउन लागेका नेपाली फिल्म 'ए मेरो हजुर ४' र कन्नड फिल्म 'केजिएफ च्याप्टर २' को बुकिङ खुलेको छ। प्रदर्शन मिति जुधेसँगै क्ल्यासको चर्चा भएका दुवै फिल्मको बुकिङ एकसाथ खुलेको हो।मल्टिप्लेक्समा 'ए मेरो हजुर ४'ले 'केजिएफ च्याप्टर २' को ३० प्रतिशत सो मात्रै पाएको छ। उच्च सोका साथ प्रदर्शनको तयारीमा रहेको 'केजिएफ'को पहिलो दिनको सबै सो लगभग हाउसफुल देखिएको छ भने दोस्रो र तेस्रो दिनका सो पनि बुकिङ भइरहेको छ। तुलनात्मक रूपमा कम सो पाएको 'ए मेरो हजुर ४' को भने बुकिङ पनि कम देखिएको छ। 

प्रदर्शनको मुखमा रहेका दुवै फिल्म प्रचार प्रसारको अन्तिम चरणमा रहेका छन्। दुई हप्ताअघि 'ए मेरो हजुर ४' को ट्रेलर सार्वजनिक भएको थियो। ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मको निर्माण टोली वैशाख १ गते नै फिल्म रिलिज गर्नेमा दृढ देखिएको थियो। 

त्यसको चार दिनपछि सार्वजनिक भएको 'केजिएफ च्याप्टर २' को ट्रेलरले फिल्म बजारमा अर्को तरंग ल्याएको थियो। २४ घण्टामा सबैभन्दा धेरैपटक हेरिने भारतीय फिल्मको ट्रेलर बनेको 'केजिएफ च्याप्टर २' को ट्रेलर  नेपालमा पनि लामो समयसम्म ट्रेण्डिङमा रह्यो। धेरैले प्रदर्शन मितिको नजिक पुगेर 'ए मेरो हजुर ४' ले प्रदर्शन मिति सार्ने अनुमान गरे पनि फिल्म तोकिएकै मितिमा प्रदर्शनमा आउने लगभग पक्का देखिएको छ। 
शनिबार फिल्मले प्रचारप्रसारको अन्तिम सामग्रीको रूपमा एउटा प्रमोसनल गीत सार्वजनिक गरेको छ। पछिल्लो समयका चर्चित र्‍यापर जी बबको आवाजमा रहेको 'भाग भाग' बोलको र्‍याप गीत यतिबेला युट्युब ट्रेण्डिङ नम्बर एकमा रहेको छ। सार्वजनिक भएको एक दिन नबित्दै गीत ट्रेण्डिङ नम्बर एकमा उक्लिएको हो। 

२०१८ मा प्रदर्शनमा आएको सफल पिरियड एक्सन ड्रामा फिल्म केजिएफको सिक्वेलको रूपमा 'केजिएफ च्याप्टर २' प्रदर्शनमा आउन लागेको हो। भने 'ए मेरो हजुर ४' पनि सफल नेपाली फिल्म सिरिज ए मेरो हजुरको चौथो फिल्म हो। नेपालका सबैभन्दा महँगा अभिनेताका रूपमा चिनिने अभिनेता अनमोल केसी तीन वर्षपछि पर्दामा देखिन लागेका हुन्। कन्नडा फिल्म उद्योगका स्टार अभिनेता यशसँगको यो क्ल्यास अनमोलको लागि सबैभन्दा ठूलो भिडन्त हुनेछ।

प्रतिक्रिया दिनुहोस