गठबन्धनको नजरमा ओली

सफल खबर संवाददाता

सोमबार, २८ चैत्र २०७८, १२ : ४९
गठबन्धनको नजरमा ओली

काठमाडौँ । पाँच दलीय गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गरेर लोकतान्त्रिक परिवर्तन उल्टाउने दुष्प्रयास गरिरहेकाे आरोप लगाएको छ। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका वरिष्ठ नेता अशोक कुमार राई  र जनमोर्चाकी नेतृ दुर्गा पौडेलले हस्ताक्षर गरेको जारी गरेको अपीलमा यस्तो आरोप लगाइएको हो। 

संयुक्त अपिलमा भनिएको छ, ‘अनेकौँ शहीदहरूको बलिदान र अनगिन्ती सपूतहरूको त्याग, तपस्या, समर्पण र नेपाली जनताको वर्षौं देखिको अथक संघर्षले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्र सहितको नयाँ परिवर्तन आएको छ। नयाँ संविधान जारी भएसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ।’समावेशिता, गणतन्त्र र स्थायित्वको दिशामा मुलुक अगाडि बढ्दै गर्दा परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने शक्तिहरू परिवर्तनको विरुद्ध अझै पनि षडयन्त्र गरिरहेको उल्लेख गरेका छन्। 

ओलीलाई लक्षित गर्दै भनेका छन्, ‘देशको संविधानको उल्लंघन गर्दै संसदमाथि निरन्तर प्रहार, अदालतउपर खेलवाड र संवैधानिक अंगहरूमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ। यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुष्प्रयास हो।’

प्रतिक्रिया दिनुहोस