काठमाडौँ । रुपन्देहीमा १ लाख ९ हजार ७५८ मतदाता थपिएका छन् ।२०७४ सालको निर्वाचनमा ५ लाख २२ हजार ६०२ मतदाता रहेकोमा अहिले थपिएपछि मतदाताको संख्या ६ लाख ३२ हजार ३६० पुगेको हो । जसमध्ये ३ लाख २३ हजार ७७८ जना पुरुष र ३ लाख ८ हजार ५७४ जना महिला रहेका छन्। यसपटक रुपन्देहीका स्थापित सहरहरुको तुलनामा मध्यम स्तरका बजार क्षेत्रमा मतदाता थपिएका छन्।
रुपन्देहीका पुराना शहरहरु बुटवल र भैरहवा भन्दा २०७१ सालमा घोषणा भएका नगरपालिकामा ५ वर्षमा मतदाताको संख्या बढेको देखिएको छ। नयाँ शहरमा जनसंख्याको अनुपातभन्दा बढी मतदाताको संख्या थपिएको हो। निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारी नयाँ शहरमा मतदाताको संख्या बढेको बताउँछन् । उनका अनुसार नयाँ शहरमा बसाईसराई गरेर आउने क्रम बढेकोले मतदाता संख्या पनि बढेको हो।
रुपन्देहीको नयाँ नगरपालिका तिलोत्तमामा ५ वर्षमा ४२ प्रतिशत मतदाता थपिएका छन्। २०७४ सालको स्थानीय चुनावमा तिलोत्तमामा ६० हजार ४४१ मतदाता थिए। अहिले २५ हजार बढेर मतदाताको संख्या ८५ हजार ७४७ पुगेको छ।तिलोत्तमा मतदाता बढी भएका नगरपालिका झापाको मेचीनगरपछिको नगर हो। सबै भन्दा बढी मतदाता झापाको मेचीनगर नगरपालिकामा ९० हजार मतदाता छन्।
यस्तै, देवदह नगरपालिकामा १० वर्षको अवधिमा ३४ प्रतिशतले जनसंख्या बृद्धि हुँदा ५ वर्षमा मतदाता थपिने दर ४८ प्रतिशत देखिएको छ।
देवदह नगरपालिकामा ५ वर्ष अघि ३२ हजार ७०३ मतदाता रहेकोमा योपटक झण्डै साढे १५ हजारले बढेर ४८ हजार २९१ पुगेको छ। बुटवल उपमहानगरपालिकामा २०७४ सालको निर्वाचनमा भन्दा १३ हजार ३४५ मतदाता थपिएका छन्। बुटवलमा मतदाताको संख्या ९० हजार ६५ पुगेको छ।जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन व्यवस्थापनका फाँट प्रमुख विनोद भट्टराईका अनुसार अघिल्लो निर्वाचनमा बुटवल उपहानगरपालिकामा ७६ हजार ७२० जना मतदाता थिए।
नगरपालिकामध्ये सबैभन्दा कम मतदाता लुम्बिनीमा छन्। लुम्बिनी साँस्कृतिक नगरपालिकामा थपिएकासहित ४३ हजार ८९० जना मतदाता छन्। २०७४ सालमा लुम्बिनीमा ३६ हजार ११५ जना मतदाता थिए।सिद्धार्थनगर नगरपालिकामा ४४ हजार ६५२, सैनामैना नगरपालिकामा ५१ हजार २२ मतदाता रहेका छन्।१० गाउँपालिकामध्ये सबैभन्दा धेरै गैडहवा गाउँपालिकामा ३० हजार ३५१ जना मतदाता र कम मर्चवारी गाउँपालिकामा २२ हजार ७४७ जना मतदाता छन् ।यसअघि २०७४ मा गैडहवा गाउँपालिकामा २४ हजार ९२० र मर्चवारी गाउँपालिकामा १८ हजार ८१७ जना मतदाता थिए।
यस्तै निर्वाचन कार्यालयका अनुसार थपिएका मतदातासहित ओमसतिया गाउँपालिकामा २३ हजार ९२९, कञ्चन गाउँपालिकमा २८ हजार ९७८, कोटहीमाई गाउँपालिकामा २६ हजार २४२ मतदाता रहेका छन् ।यस्तैगरी, गैडहवा गाउँपालिकामा ३० हजार ३५१, मर्चवारी गाउँपालिकामा २२ हजार ७४७, मायादेवी गाउँपालिकामा ३० हजार ४६४, रोहिणी गाउँपालिकामा मतदाताको संख्या २६ हजार ९६९ पुगेको छ।यस्तै थपिएका मतदातासहितको संख्या शुद्धोधन गाउँपालिकामा २७ हजार ५७८, सम्मरीमाई गाउँपालिकामा २३ हजार ६८२ र सियारी गाउँपालिकामा २७ हजार ७५३ पुगेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ चैत्र २०७८, १२ : ३०
लेखकबाट थप