सत्ता गठबन्धनको ‘चुनावी कमाण्डर रामचन्द्र पौडेल

पत्रपत्रिकाबाट

बुधबार, २३ चैत्र २०७८, ०७ : ५४
सत्ता गठबन्धनको ‘चुनावी कमाण्डर रामचन्द्र पौडेल

काठमाडौं । सत्तारूढ गठबन्धन दलले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने मोडालिटीबारे सत्ता गठबन्धनबीच छलफल गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले मंगलबार निर्वाचन परिचालन तथा अनुगमन समिति बनाएको छ। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय समिति गठन गरेको हो । 

स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय सत्ता गठबन्धनका ५ दलले यसअघि नै गरिसकेका थिए। चैत १७ गते बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेको थियो। त्यसका लागि प्रदेश र जिल्ला र पालिकास्तरीय समिति बनाउने निर्णय भएको थियो। समितिलाई चैत २२ गते प्रतिवेदन बुझाउन भनिएको थियो। 

सात प्रदेश ७७ जिल्ला र ७५३ वटै पालिकामा गठित संयन्त्रले मंगलबार देशभरको प्रतिवेदन दिएको थियो। स्थानीय संयन्त्रले बुँदागत आधारमै सबै पार्टीको २०७४ को र हालको अवस्थाको विश्लेषण गरेको छ। स्थानीय तहमा विगतको निर्वाचन परिणाम र पछिल्लो राजनीतिक अवस्थाका आधारमा चुनावी रणनीति बनाउने गठबन्धनको तयारी छ। सोही प्रतिवेदनका आधारमा चुनावी गठबन्धनको विषय अगाडि बढेको हो। 

परिचालन तथा अनुगमन समितिमा कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगनकुमार थापा, नेकपा माओवादीबाट वर्षमान पुन, प्रमुख सचेतक देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट वेदुराम भुसाल, उपमहासचिव विजय पौडेल, जनता समाज पार्टीबाट अशोक राई र मन्त्री रेणु यादव, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी छन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस