प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

रासस

सोमबार, १४ चैत्र २०७८, २१ : ०१
प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । मौसम बदलीले भिजिबिलिटी कम हुँदा विमानस्थलमा ‘आइएफआर’ उडान मात्रै सञ्चालन भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थलको उडान प्रभावित भएको सूचना आन्तरिक उडानका वायुसेवा कम्पनीले उडान डिले भएको सूचना यात्रुलाई गराएका छन् । बढीमा चार घण्टासम्म आन्तरिक उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए  ।

उनका अनुसार आज बिहानैदेखि उडान प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण बुद्ध एयरले तुम्लिङटार गन्तव्यमा दुई उडान रद्द गर्नुपरेको र बाँकी सबै गन्तव्यमा साँझ अबेरसम्म उडान भइरहेको कम्पनीले जनाएको छ ।

 “कम भिजिबिलिटीले विमानस्थल आइएफआर अप्रेसन सञ्चालनमा जानेबित्तिकै उडान प्रभावित हुन्छ । डिले उडान राति अबेरसम्म सम्पन्न हुनेछन्”, बुद्ध एयरका सूचना अधिकारी कर्णले भने ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । काठमाडौँ उपत्यकाको आकास आज दिनभरजसो बदली रह्यो ।

अझै केही दिन उडान प्रभावित हुनसक्ने आँकलन गरी हवाई सेवा प्रदायक कम्पनीले यात्रुलाई समयमै सूचना पु¥याउने प्रयास गरिएको जनाएका छन् । एसएमएस, मोबाइल एप, सामाजिक सञ्जालमार्फत यात्रुलाई समयमै सूचित गरिँदै आएको सूचना अधिकारी कर्णले जानकारी दिए  ।    

यात्रुले टिकट काट्दा सही सम्पर्क नम्बर राखेमा सम्बन्धित यात्रुलाई मोबाइलमै सूचना जाने कम्पनीले जनाएको छ । यती एयरलाइन्स, श्रीएयरलाइन्सलगायत कम्पनीको उडान पनि सामान्य प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस