भारतीय ठेकेदारको विकल्प खोजिँदै

पत्रपत्रिकाबाट

आइतबार, ३० बैशाख २०७५, ०८ : ५२
भारतीय ठेकेदारको विकल्प खोजिँदै


दोलखा । निर्माणाधीन ४५६ मेगावाको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लक्ष्य भेट्न बाधा पुर्याउने भारतीय ठेकेदार कम्पनीको विकल्प खोजिने भएको छ । प्रबद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजनाको काम समयमा नगर्ने कम्पनीको विकल्प खोजीको बारेमा छलफल सुरु गरेको हो ।

लट २ अन्तर्गतको हाइड्रोमेकानिकलको कामले गर्दा आयोजनाको समग्र प्रगति नै प्रभावित भएको छ । आयोजनाको हालसम्म करिब ९५ प्रतिशत काम पूरा भए पनि हाइड्रोमेकानिकलकै कामको सुस्तताले अहिले आयोजनाको अन्तिम लक्ष्य भेट्न मुस्किल छ । यसले अहिले समग्र आयोजना व्यवस्थापनको टाउको दुःखाइको विषय बनेको छ ।

आयोजनाको सिभिल, इलेक्ट्रिक तथा इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनको कामको लक्ष्यअनुसारकै प्रगति भए तापनि हाइड्रोमेकानिकलको कामले भने गति लिन सकेको छैन । हाइड्रोमेकानिकलको काममा आयोजना स्थलमा काम गर्ने कामदार पनि उपस्थितिका लागि मात्रै छन् ।

आयोजनाको हाइड्रोमेकानिकलको ठेक्का भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड इन्जिनियरिङ लिमिटेडले पाएको छ । आयोजनाको ३७२ र ३१० मिटरको २ वटा ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्नुपर्छ । तर अहिलेसम्म त्यसको काम सुरु नै हुन सकेको छैन । पाइपहरू केही आयोजनास्थल पुर्याए तापनि धेरैजसो बाटोमै छन् ।

टेक्सम्याकोले सन्तोषजनक रुपमा काम नगरेपछि उसको उच्च व्यवस्थापनसँग समेत आयोजना र ऊर्जा मन्त्रालयस्तरबाट समेत धेरै चरणमा बैठक भइसकेको छ । आयोजनाको समस्यको बारेमा आयोजनास्थल भ्रमण हुने प्रधानमन्त्री, ऊर्जामन्त्रीलगायतको उच्चस्तरीय भ्रमणमा समेत आयोजनाले जानकारी गराउँदै आएको छ । एक वर्षअघि टेक्सम्याकोको उच्चस्थतरीय टोलीलाई भारतबाट बोलाएर साइडमै छलफल गराउँदा प्रगति हुने आशा गरिए पनि त्यो आशामै सीमित भएको छ । आजको कारोबारमा खबर छ ।

प्रतिक्रिया दिनुहोस