दीपेन्द्रको पहिलो अन्तर्राष्ट्रिय शतकमा नेपालले दियो चुनौतीपूर्ण लक्ष्य

सफल खबर संवाददाता

शनिबार, १२ चैत्र २०७८, १२ : ५८
दीपेन्द्रको पहिलो अन्तर्राष्ट्रिय शतकमा नेपालले दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ । पपुवा न्यु गिनी (पिएनजी)विरुद्ध दोस्रो एकदिवसीय खेलमा नेपालले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनाएको हो । 

नेपालका लागि युवा ब्याटर दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन् । उनको यो आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । १४० बलको सामना गरेका उनले ७ चौकासहित १०५ रन जोडे । त्यस्तै, ओपनर देव खनालले अर्धशतकिय पारी खेले। उनी ८६ बलमा ४ चौका र ३ छक्कासहित ७२ रनमा आउट भए । उनको यो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हो । 

साथै दीपेन्द्र र देवको साझेदारीले नयाँ किर्तीमानी कायम गरेको छ । उनीहरुले १२९ रनको साझेदारी गरेका थिए । जुन ओडिआईमा नेपालबाट बनेको कुनैपनि विकेटका लागि उच्च साझेदारी हो ।   

रोहित कुमार पौडेलले ३५ रनमा आउट हुँदा भीम सार्कीले २६ रन बनाए । कप्तान सन्दीप लामिछानेले २४ रन जोडे । खराव सुरुवात गरेको नेपालले २ ओभरमा २ विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल गोल्डेन रोयल आउट भए भने अनिलकुमार शाह एक रनमा क्याच आउट भएका थिए । 

बलिङतर्फ पपुवा न्युगिनीका लागि तीव्र गतिका एलि नाओले ३ तथा नर्मन भानुआले २ विकेट लिए । 

प्रतिक्रिया दिनुहोस