बागमती प्रदेशसभाको बैठक बस्दै, के के छन् कार्यसूची ?

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, १२ : २४
बागमती प्रदेशसभाको बैठक बस्दै, के के छन् कार्यसूची ?

काठमाडौं । बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ। प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकमा गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेस भएका तीन विधेयकमा छलफल हुनेछ।

बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक स्वीकृत गर्ने कार्यसूची रहेको सचिव खड्काले जानकारी दिए। 

उनका अनुसार सो विधेयक सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतका लागि पेस गर्नेछन्। 

बागमती प्रदेशसभामा हाल १०९ सदस्य छन्। जसमा नेकपा एमालेका ४३, नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका २ र जसपाका १ जना छन्। 

प्रतिक्रिया दिनुहोस