एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई गृहमन्त्रीको आग्रह

सफल खबर संवाददाता

मंगलबार, ०१ चैत्र २०७८, १५ : ३९
एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई गृहमन्त्रीको आग्रह

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई आग्रह गरेका छन्।मन्त्री खाँणले उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको उल्लेख गर्दै त्यसको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई आग्रह गरेका हुन्।

विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रता, मानव अधिकारको रक्षा र निर्वाचनको माध्यमबाट सरकार बनाउने मुलुकले मात्रै एमसीसी परियोजना प्रस्ताव गर्न पाउने भएकाले त्यसले देश र जनताको हित नहुने भन्ने प्रश्नै नउठ्ने तर्कसमेत गरे।

एमसीसी परियोजना घरघरमा बिजुली पुर्‍याउनका लागि ट्रान्समिसनलाइन बनाउने परियोजना भएको भन्दै गृहमन्त्री खाँणले त्यसमा कसरी राष्ट्रघात भयो? भनि प्रश्न गरे। उनले केहीले एमसीसी आए अमेरिकी सेना र गोला बारुद्ध आउने आशंका गरेकोमा पनि आपत्ति जनाए।बिजुलीको ट्रान्समिसन लाइन बनाउने सो परियोजनाबाट अमेरिकी सेना र गोला बारुद्ध नआउने उनको भनाइ थियो।

गृहमन्त्री खाँणले भने, ‘एमसीसी बिजुलीको ट्रान्समिसन लाइनका लागि हो। बिजुलीको हाइटेन्सन टावर बनाउनका लागि हो। तर यहाँ मान्छेले के भन्छन् भने–एमसीसीले सेना आउँछ, हतियार आउँछ। गोलाबारुद आउँछ। बिजुलीको तारबाट बिजुली नै आउँछ, कहीँ सेना आउँछ र?’ 

प्रतिक्रिया दिनुहोस