लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्री देउवाको तयारी

पत्रपत्रिकाबाट

सोमबार, ३० फागुन २०७८, ०७ : ५२
लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई स्थानीय तहको निर्वाचनअघि नै सरकारमा सहभागी गराउने गृहकार्यमा छन्। पछिल्ला दिनमा लोसपाका नेताहरूसँग निरन्तर छलफलमा जुटेका प्रधानमन्त्री देउवाले शनिबार पनि अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा र सर्वेन्द्रनाथ शुक्लासँग कुरा गरे। यसअघि गत १६ गते देउवा र ठाकुरबीच कुरा भएको थियो।

लोसपाका नेता भण्डारीले भेटमा देउवाले सरकारमा सहकार्य गर्न प्रस्ताव गरेको बताए। ‘प्रधानमन्त्रीज्यूले सरकरमा समेत सहकार्य गर्न प्रस्ताव गर्नुभएको छ। ‘हामीले निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्तिहरूको गठबन्धन बनाऊँ भनी प्रस्ताव राख्यौं’, भण्डारीले भने, ‘अहिलेको गठबन्धन अप्राकृतिक हो।

नेपाली कांग्रेस र लोसपाबीच गठबन्धन भयो भने त्यो प्राकृतिक हुनेछ।’ लोसपा लोकतान्त्रिक शक्ति भएका कारण एमासिसीको मुद्दामा सरकारलाई सहयोग गरेको उनले बताए। लोसपा स्रोतले भन्यो, ‘स्थानीय तहको चुनावअघि नै लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको चाहना देखिएको छ।

स्थानीय चुनावअघि लोसपा सरकारमा आयो भने चुनावमा लोसपा र एमालेबीच सहकार्यको सम्भावना कम हुन्छ। यसबाट नेपाली कांग्रेसलाई फाइदा पुग्नेछ। लोसपाका नेता तथा सांसद उमाशंकर अरगरैयाले पार्टीले राखेका माग सम्बोधन गराउने विषयमा प्रधानमन्त्रीसँग भेटघाट गरेको बताए। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस