हेटौँडा साहित्यिक महोत्सव सम्पन्न

सफल खबर संवाददाता

मंगलबार, २४ फागुन २०७८, १२ : ३१
हेटौँडा साहित्यिक महोत्सव सम्पन्न

मकवानपुर । मकवानपुरका महिला साहित्यकारको संस्था आँचल साहित्य कला पुञ्जले आयोजना गरेको दुई दिने हेटौँडा बृहत् साहित्य महोत्सव सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिकाको सहयोगमा आँचलले मकवानपुरमा पहिलो पटक देशभरका साहित्यकारलाई आमन्त्रण गरी महोत्सवको आयोजना गरेको हो । 

महोत्सवको पहिलो दिन ‘साहित्यमा राजनीति’ विषयमाथि बहस भएको थियो । ध्रुव अधिकारीका अनुसार उक्त कार्यक्रममा साहित्यकार भूपाल राई र समीक्षक घनश्याम घिमिरे वक्ता रहेका थिए भने सहजकर्ताको काम ठाकुर बेलबासेले गरेका थिए । सबै वक्ताहरुले साहित्य राजनीतिबाट टाढा हुन नसक्ने बताए । 

सोही दिन ‘भाषिक दृष्टिले साहित्यमा नारी’ विषयमा कार्यपत्र प्रस्तुत भएको थियो भने साहित्यकार ज्ञानु अधिकारीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उक्त कार्यपत्रमाथि साहित्यकार प्रणेता र राम अविकासले टिप्पणी गरेका थिए ।

सो कार्यक्रममा मकवानपुरसहित देशभरका ४० जना साहित्यकारले गजल तथा मुक्तक वाचन गरे । साँझ साङ्गीतिक कार्यक्रम भएको थियो । पीएम सेन्टर र सुस्केरा परिवारले आआफ्नो सङ्गीतिक प्रस्तुति दिएका थिए । 

प्रतिक्रिया दिनुहोस