मधेशमा पुनः दल फुटको श्रृंखला शुरु

लोसपाबाट किन अलग्गिए वृशेषचन्द्र लाल सहितका नेता ?

पत्रपत्रिकाबाट

बुधबार, ११ फागुन २०७८, ०८ : २४
लोसपाबाट किन अलग्गिए वृशेषचन्द्र लाल सहितका नेता ?

काठमाडौं । मधेसी दलको फुटको शृंखलामा मंगलबार लोकतान्त्रिक समाजवादी पार्टी थपिएको छ। लोसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य वृशेषचन्द्र लाल, विजयकुमार सिंहलगायतका नेताकार्यकर्ताले लोसपा परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी ब्युँताउने उद्घोष गरेका छन्।

जिल्ला समन्वय समिति धनुषाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा वृशेषचन्द्र लालले लोसपा परित्याग गरेको तथा फागुन १५ गते तमलोपामा प्रवेश गर्ने जानकारी दिए। लालले मधेसवादी दल तथा नेतृत्व पंक्तिमाथि जनताको विद्रोहपूर्ण संघर्षको ऐतिहासिक अजेन्डा थाम्न नसकेको, गन्तव्यको दिशामा अगाडि बढ्न नसकेको तथा जनताले दिएको अभिमत, समर्थनलाई सत्ता र सरकारमा सहभागिताको स्वार्थमा शक्तिको हातमा सुम्पेको आरोप लगाए।

‘बृहत् राजनीतिक शक्ति निर्माणको नाममा सरकारहरू बनाउन भएका एकीकरण वा विभाजनले मधेसकेन्द्रित दलहरूको अस्तित्व नै रहेन। नेतृत्व पंक्तिले मधेस केन्द्रित नामबाटै तर्सिने काम गर्न थालेका छन्। स्वभावतः लोकतन्त्रवादी मधेसी जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संविधानसभा सदस्य विजयकुमार सिंहले मधेसकेन्द्रित दलले आफूलाई राष्ट्रिय दल देखाउन आफ्नो नामबाट मधेस शब्द झिकेको बताए। उनले भने, ‘क्षेत्रीयताबिना संघीयता सफल हुन सक्दैन। हाम्रो दल क्षेत्रीय दल हुनेछ। क्षेत्रीयतामार्फत हामी राष्ट्रिय एकताको उद्घोष गर्छौं’ उनले थपे, ‘क्षेत्रको विकासमार्फत राष्ट्रको विकास गर्छौं।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस