ए डिभिजन लिग : एपीएफ र पुलिसले अंक बाँडे

सफल खबर संवाददाता

मंगलबार, १० फागुन २०७८, १५ : १६
ए डिभिजन लिग : एपीएफ र पुलिसले अंक बाँडे

काठमाडौं । एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दशरथ रंगशालामा मंगलबार भएको पहिलो खेलमा पुलिसका लागि सुमन लामा र एपीएफका लागि प्रदीप लामाले गोल गरे ।

खेल सुरु भएको पहिलो मिनेटमा पुलिसका फरवार्ड सुमन लामाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । कपिल ढकालको क्रसलाई एपीएफका डिफेन्डर एडामा डुम्बियाले क्लियर गर्न नसक्दा उक्त बललाई सुमनले पोष्टको दिशा दिलाएका थिए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो मिनेटमा नै लिएको अग्रता जोगाइराख्न नसक्दा पुलिसले एपीएफसँग अंक बाँडेको हो ।एपीएफका मिडफिल्डर प्रदीप लामाले ४१औं मिनेटमा बराबरी गोल फर्काएका थिए । उनले बक्सको ठिक बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको निर्धारित समयसम्म पनि दुवै टोलीले पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा थप गोल हुन सकेन । बराबरसिँगै १२ खेलबाट १५ अंक जोडेको एपीएफ तालिकाको आठौं स्थानमा एथावत छ । यस्तै, पुलिस पनि समान खेलबाट १२ अंक जोड्दै ११औं स्थानमा यथावत छ ।

लिगको अन्तिम खेलमा एपीएफले लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ भने, पुलिसले न्यूरोड टीम (एनअनरटी) सँग प्रतिस्पर्धा गर्नेछ । लिगमा दुई खेल अगावै मछिन्द्र च्याम्पियन बनिसकेको छ । च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेट हुँदै बी डिभिजन लिगमा घटुवा भइसकेका छन् ।आज हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस