फाइभजी सेवा तत्काल परीक्षण गर्न सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्देशन

सफल खबर संवाददाता

शनिबार, २२ माघ २०७८, २१ : ०३
फाइभजी सेवा तत्काल परीक्षण गर्न सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाईभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको तत्काल परीक्षण गरी आम जनतामा सेवा पुर्‍याउन नेपाल टेलिकमलाई निर्देशन दिएका हुन् । 

कम्पनीको १८ औँ वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले फोरजी आयोजना र मध्य पहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने काममा ढिलाइ नगर्न पनि नेपाल टेलिकमलाई सचेत गराए ।

मन्त्री कार्कीले भने, ‘फोरजी आयोजना र मध्य पहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पेका अभिभारा निर्धारित समयमै सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु । त्यसै गरी नेपाल दूर सञ्चार प्राधिकरणबाट फाईभजीको सेवा परीक्षणका निम्ति स्वीकृति प्राप्त भइसकेको हुँदा त्यसलाई पनि यथाशीघ्र अगाडि बढाउन आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस