जनताको सपनालाई सत्ता गठबन्धनबाट मुर्छित : पोखरेल

सफल खबर संवाददाता

शनिबार, २२ माघ २०७८, २० : ३४
जनताको सपनालाई सत्ता गठबन्धनबाट मुर्छित : पोखरेल

काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश विकास गर्ने जनताको सपनालाई सत्ता गठबन्धनले मुर्छित पार्ने काम गरेको आरोप लगाएका छन्। प्रेस चौतारी नेपालको स्थापना दिवसका शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले गठबन्धन सरकारले पूर्वाधार निर्माण लगायतका कामहरू रोकेको आरोप लगाए।

एमालेलाई समाप्त गर्ने विषाक्त बिचार बोकेर निर्माण भएको गठबन्धनलाई राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका मुद्दामा कुनै चासो नै नरहेको उनले बताए। पोखरेलले वर्तमान सरकार बनेपछि कालापानी र लिपुलेकलाई पनि अपनत्व दिन नसकेको तर्क गरे। एमालेले संघीयताको बलियो कार्यान्वयन चाहको भन्दै उनले संघीयता नचाहनेहरूलाई लिएर गठबन्धन दल अघि बढेको बताए।

स्थानीय तहको चुनावको मिति घोषणा नगरेर परमादेश सरकारले संविधान र कानुन उलंघन गरेको उनको भनाइ छ। उनले स्थानीय तहको निर्वाचन समयमै नगराए जनपरिचालन गर्ने चेतावनी दिए। ‘श्रीमानले बनाएको सरकारले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छ,’ पोखरेलले भने, ‘कानुनलाई उल्लघंन गर्ने धृष्टता गर्दै छ। स्थानीय तहको निर्वाचन कानुनमा तोकिएको समयभित्रै भएन भने त्यसको विरुद्धमा देशव्यापी रूपमा जनपरिचालन हुन्छ।’

प्रतिक्रिया दिनुहोस