भाउजुलाई बलात्कारपछि शिशु हत्या गर्न दवाव दिने युवालाई जन्मकैद

पत्रपत्रिकाबाट

विहीबार, २० माघ २०७८, ०८ : १४
भाउजुलाई बलात्कारपछि शिशु हत्या गर्न दवाव दिने युवालाई जन्मकैद

बाजुरा । हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गर्ने बाजुराका युवकलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ । करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको हो ।

राजकुमारमाथी भाउजु नाता पर्ने युवती ९परिवर्तित नाम रिंकु० बलात्कार गरेको आरोप थियो । बलात्कारपछि गर्भवती भएकी युवतीले २०६९ जेठ २७ गते शिशु जन्माएकी थिइन् । राजकुमारले बच्चा जन्मिने बित्तिकै मारिदिनु भन्दै दबाव दिँदै आएको पीडित पक्षको आरोप थियो । कुनै समस्या आए आफू जवाफदेही हुने भन्दै पटक पटक राजकुमारले दबाव दिएपछि युवतीले जन्मेको ३४ दिनमा बिषादी खुवाई आफ्नै सन्तानको हत्या गरेकी थिइन् ।

उक्त मुद्दामा बाजुरा जिल्ला अदालतले राजकुमारलाई निर्दोष भन्दै सफाइ दिएको थियो । तर मंगलबार उच्च अदालतका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतवहादुर थापाको संयुक्त इजलासले राजकुमारलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

यस्तै युवतीलाई चार वर्ष कैद हुने गरी जिल्ला अदालत बाजुराले सुनाएको सजाय भने उच्च अदालतले सदर गरेको छ । विषादी जडिबुटी ल्याएर बालकलाई खुवाउन सहयोग गरेको आरोपमा एक महिलालाई ६ महिना कैद सजाय सुनाएको छ । शिशु हत्याका अधिकांश मुद्दाहरूमा जन्माउने आमालाई मात्र दोषी ठहर गर्ने गरिएको छ । तर यसपटक उच्च अदालतले हत्या गर्न दबाब दिनेलाई समेत सजाय सुनाएको छ । राजधानी दैनिकमा खबर छ ।