तीन स्रष्टालाई विसं २०७८ को भैरव पुरस्कार

रासस

आइतबार, १६ माघ २०७८, १२ : २१
तीन स्रष्टालाई विसं २०७८ को भैरव पुरस्कार

काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा एवं हास्य व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारबाट यसवर्ष तीन जना स्रष्टालाई सम्मान गरिने भैरव पुरस्कार गुठीले जनाएको छ । 
 
जसअनुसार २०७८ सालको भैरव पुरस्कार  व्यङ्ग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने छ । यो पुरस्कारको राशि रु एक लाख ११ हजार १११ रहेको छ । पहिलो पटक यसै वर्षदेखि घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिने गुठीले जनाएको छ   ।

पुरस्कारको राशि रु एक लाख एक हजार १११ रहेको छ । नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारिता लगायतको क्षेत्रमा विशिष्ट योगदान दिने स्रष्टालाई अब वर्षेनि यो पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष रोचक घिमिरले जानकारी दिए। 

त्यस्तै रु ५५ हजार ५५५ रुपैया राशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार बिमल भौकाजीलाई प्रदान गरिने भएको  छ । पुरस्कार प्राप्तकर्ताको नाम छनोट गर्न गुठीले व्यङ्ग्यकार लक्ष्मण गाम्नागेको संयोजकत्वमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन र युवराज मैनाली सदस्य रहनुभएको समिति गठन गरेको थियो । कोभिड–१९ को कहर कम हुने वित्तिकै औपचारिक कार्यक्रम गरी पुरस्कार प्रदान गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस