उखुबारीमा भेटिएको एउटा शवको पहिचान खुल्यो

सफल खबर संवाददाता

विहीबार, १३ माघ २०७८, २० : ५१
उखुबारीमा भेटिएको एउटा शवको पहिचान खुल्यो

मोरङ । मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा भेटिएको एउटा शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार बिहीबार उखुबारीस्थित खाडलमा भेटिएको शव ४९ वर्षीय राजेन्द्रप्रसाद श्रेष्ठको रहेको छ।

शवको प्यान्टमा भेटिएको पर्स र लाइसेन्सका आधारमा प्रहरीले श्रेष्ठका आफन्तसँग सम्पर्क गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। भक्तपुरमा परिवार बसोबास गर्दै आएको भए पनि श्रेष्ठ सुनसरीको धरान ३ मा बस्दै आएको प्रहरी अनुसन्धानमा खुलेको उनले जानकारी दिए। जग्गाको कारोबार गर्दै आएका श्रेष्ठ गत मंसिर ४ गते नै काम मिलाउन भन्दै धरान आएको श्रेष्ठका आफन्तले जनाएका छन्।

परिवार सदस्यका अनुसार जग्गा कारोबारमा लाग्दै आएका श्रेष्ठले झापामा करिब १८ विगाह क्षेत्रफल प्लटिङ गर्दै आएका थिए।
करिब ५ फिट गहिरो खाडलमा शव कुहिसकेको अवस्थामा भेटिएको बताएका प्रहरी प्रवक्ता श्रेष्ठले शवसँगै पहिचान खुल्ने कागजपत्रका आधारमा परिवारका सदस्यलाई सम्पर्क गरिएको जानकारी दिएका छन्।

यसक्रममा प्रहरीले भक्तपुरमा बसोबास गर्दै आएकी उनको श्रीमती विराटनगर आउने क्रममा रहेको र धरानस्थित आफ्न्त प्रहरी सम्पर्कमा आइसकेको उनको भनाइ छ।

प्रहरीले बुधबार राति स्थानीयको सूचनामा उखुबारीमा देखिएको खाडल खनेको थियो। सो खाडलमा करिब ३५ वर्षीय पुरुषको शव गलिसकेको अवस्थामा फेला परेको थियो।

सोही क्रममा बिहीबार पुनः घटनास्थल नजिक करिब ५० मिटरको दुरीमा अर्को खाडल भेटिएपछि प्रहरीले उत्खनन् गरेको थियो। सो खाडलमा श्रेष्ठको शव फेला परेको हो। श्रेष्ठका श्रीमतीसँगै दुई छोरा र एक छोरी रहेको खुलेको छ। प्रवक्ता श्रेष्ठका अनुसार बुधबार राति फेला परेको शवबारे थप अनुसन्धान भइरहेको भए पनि पहिचान हुन सकेको छैन। दुवै शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस