गृहमन्त्री बालकृष्ण खाँणको चेतावनी– मेडिकल कलेजमाथि अनुसन्धान र कारबाही थाल्छौँ

सफल खबर संवाददाता

शुक्रबार, ०७ माघ २०७८, २० : २०
गृहमन्त्री बालकृष्ण खाँणको चेतावनी– मेडिकल कलेजमाथि अनुसन्धान र कारबाही थाल्छौँ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएका समस्या तत्काल समाधान गर्ने बताएका छन्।गृहमन्त्री खाँणले शुक्रबार पीडत विद्यार्थी र विद्यार्थी संगठनका नेताहरुसँग छलफल गरी ती मेडिकल कलेजहरुमा देखिएका समस्या समाधान तत्काल गर्ने प्रतिवद्धता जनाएका हुन्।

उनले केएमसी र नोबेल मेडिकल कलेजमा देखिएको समस्याबारे तत्काल अनुसन्धान सुरु गर्ने र दोषीमाथि कडा कारवाही गर्ने चेतावनी समेत दिए। गृहमन्त्री खाँणले विद्यार्थी संगठनका नेताहरुलाई पनि सो घटनालाई लिएर उत्तेजित हुने र आवेशमा आउने काम नगर्न सचेत गराए। उनले संविधान र कानुनको परिधिभित्र रहेर सो कलेज घटनाको अनुसन्धान गरी कारबाही गर्ने दृढता प्रकट गरे।

विद्यार्थीहरुले जथाभावी शुल्क लिएको भन्दै ती दुवै कलेजको व्यवस्थापनविरुद्ध आन्दोलन गरिरहेका छन्। गृहमन्त्री खाँणले भने, ‘मेडिकल कलेजमा समस्याहरु छन्, ती समस्याहरुलाई सम्बोधन गर्ने क्रममा प्रक्रियागत रुपमा सरकारले अनुसन्धान गर्दछ र दोषीलाई ऐन,कानुन अनुसार कारबाही हुन्छ। यस विषयमा विद्यार्थीहरुलाई धेरै कठिन छ। सरकारले निर्णय गर्दा आग्रह,पूर्वाग्रहबाट प्रेरित भएर गर्नु हुँदैन भन्नेमा स्पष्ट छ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निजी मेडिकल कलेजहरुले दादागिरी देखाएको भन्दै उनीहरुमाथि तत्काल कारबाही गर्न गृहमन्त्री खाँण समक्ष आग्रह गरे।  शिक्षामन्त्री पौडेलले कलेज सञ्चालकहरुको भाषा,शैली र तरिकाका कारण यस्तो स्थिति सिर्जना भएको उल्लेख गर्दै भने ‘यसमा शुल्कको कुरा, छात्रावासको कुरा पनि चिकित्सा शिक्षा आयोगको ऐन विपरीत मेडिकल सञ्चालकहरुले गरिरहेका छन्। उनीहरुले मेडिकल कलेज पढने विद्यार्थीहरुमाथि दादागिरी देखाइरहेका छन्।उनीहरुमाथि तत्काल कारबाही गर्नु हुन्छ। अन्यथा विद्यार्थीहरुको मेडिकल कलेजमा पहुँचै हुँदैन।’

कार्यक्रममा बोल्दै विद्यार्थी संगठनका नेताहरुले विद्यार्थीहरुमाथि दमन र ठगी गर्ने निजी मेडिकल कलेजहरुलाई तत्काल कारवाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। 

प्रतिक्रिया दिनुहोस