चितवन जिल्ला लिग : रामपुर र नारायणीले तीन–तीन अंक बटुले

सफल खबर संवाददाता

आइतबार, २५ पुस २०७८, १९ : ३४
चितवन जिल्ला लिग : रामपुर र नारायणीले तीन–तीन अंक बटुले

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला लिगमा रामपुर फुटबल क्लब रड्स र नारायणी फुटबल क्लबले पहिलो जित दर्ता गरेका छन् ।

आज (आइतबार) भएको पहिलो खेलमा रामपुरले एस्ट्रल युथ सोसाइटीलाई ३–१ ले पाखा लगायो । रामपुरको जितमा बिशाल तामाङ, बिशेष तामाङ र समिप ढकालले एक एक गोल गरे । एस्ट्रलका अभिषेक महतोले एक गोल फर्काए । खेलको दोस्रो मिनेटमा नै बिशालले गोल गर्दै रामपुरलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा एस्ट्रलका अभिषेकले बराबरी गोल फर्काए । पहिलो हाफमा नै रामपुरले फेरि अग्रता लियो । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयको तेस्रो मिनेटमा बिशेषले गोल गर्दै पुनः रामपुरलाई अग्रता दिलाए ।

दोस्रो हाफमा रामपुरले थप एक गोल गर्‍यो। ७५ औं मिनेटमा समिपले गोल गर्दै ३(१ को जित सुनिश्चित गरे । जितसंगै रामपुरले समूह ‘बी’ मा तीन अंक बनाएको छ । एस्ट्रल भने अंकबिहिन छ । यस्तै आजको दोस्रो खेलमा नारायणीले बगान यात्रा ग्रुपलाई १–० ले पराजित गर्‍यो । नारायणीको जितमा अमृत श्रेष्ठले एक गोल गरे । उनले खेलको २२ औं मिनेटमा गोल गरेका थिए । उक्त गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच नारायणीका अमृत घोषित भए ।

जितपछि नारायणीले २ खेलबाट ३ अंक बनाएको छ । यात्राको पनि दुई खेलबाट समान अंक छ । लिग अन्तर्गत सोमबार पनि दुई खेल हुनेछ । सोमबार दिउँसो १ बजे नारायणगढ फुटबल क्लब र नारायणी मोटर्स युनिक क्लब बसेनीबीच खेल हुनेछ । यस्तै दिउँसो ३ः३० बजे केबिए ग्लोबल भरतपुर फुटबल क्लब र पानस युवा क्लब भिड्नेछन् ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् । लिग बिजेताले ट्रफीसहित एक लाख पाउनेछ भने उपबिजेताले ५० हजार प्राप्त गर्नेछ । तेस्रो र चौथो हुने टोलीले समान २५–२५ हजार प्राप्त गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस