रुँदै झाँक्रीले भनिन्, ‘दुःखले निर्माण गरेको घरमा बस्ने वातावरण भएन’

सफल खबर संवाददाता

शुक्रबार, १६ पुस २०७८, २० : २०
रुँदै झाँक्रीले भनिन्, ‘दुःखले निर्माण गरेको घरमा बस्ने वातावरण भएन’

गुल्मी । शहरी विकास मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफूले दुःखले निर्माण गरेको घरमा बस्ने वातावरण नभएको बताएकी छन् ।

झाँक्रीले शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा एकीकृत समाजवादी पार्टीको कार्यालय उद्घाटन गर्दै विगतमा आफूहरूले मेहनतका साथ धेरै घर निर्माण गरेको भए पनि ती घरमा बस्ने वातावरण नहुँदा नयाँ घर निर्माण गरेको बताइन् । उनले नेकपा एमालेलाई लक्षित गर्दै ुपुरानो घरुको संज्ञा दिएकी थिइन् । र ुनयाँ घरुको रुपमा नेकपा एकीकृत समाजवादीलाई अर्थ्याएकी थिइन् ।

उनले भनिन, ‘थुप्रै घर निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ सबैको मान्यता हो तर जिन्दगीका महत्वपूर्ण समय त्यही घर पार्टीमा योगदान गर्‍यौं, लाखौं जनताको सारथी मात्रै होइन बदल्ने महत्वपूर्ण अभियन्ता पनि बन्यौं ।’

झाँक्रीले गुल्मीको नेकपा एमालेको पार्टी कार्यालय नजिकै नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय स्थापना गर्दै विगतमा धेरै संघर्षका बाबजुद पक्की घर बनाउन सफल भएको बताइन् । उनले मेहनतले बनाएको त्यही घरबाट अलग भएको भन्दै कठिन यात्रा तय गरेको बताइन् ।

झाँक्रीले भनिन्, ‘धेरै मेहनत गरेका थियौं त्यो घर बनाउन । तर त्यही घर पार्टीबाट अलग भयौं, यात्रा कठिन छ, कठिन भए पनि यात्रा सम्भव छ ।’
जनताको समस्या समाधान गर्ने एकमात्र थलोको रुपमा रहेको व्यवस्थापिका संसद्‍लाई नेकपा एमालेले बन्धक बनाउन नहुने पनि उनको भनाइ थियो । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिँदै नागरिकलाई दुःख दिने प्रवृत्तिको अन्त्य गर्न पनि आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस