चितवन राष्ट्रिय निकुञ्जमा एक सय नौ वन्यजन्तुको उद्धार

रासस

शनिबार, १० पुस २०७८, १६ : १०
चितवन राष्ट्रिय निकुञ्जमा एक सय नौ वन्यजन्तुको उद्धार

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य छन् ।

उद्धार गरिएका जनावारमध्ये सबैभन्दा बढी अजिङ्गर छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ८८ अजिङ्गरको उद्धार गरिएको छ । चार बाघ, एउटा गैँडा, चार मगर गोही र १२ अन्य जनावर रहेका छन् । यी जनावरलाई निकुञ्ज बाहिर गएर जनतालाई दुःख दिइरहेको अवस्थामा उद्धार गरिएको हो । कतिपयलाई घाइते भएको अवस्थामा समेत उद्धार गरिएको उनले जानकारी दिए।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएका बाघले बस्ती पसेर जनतालाई दुःख दिएको र सामुदायिक वनमा घाँस दाउरा गर्न गएका मानिसलाई आक्रमण गरी मानवीय क्षति गरेको अवस्थाबाट उद्धार गरी ल्याइएको हो । उद्धार गरी ल्याइएका बाघलाई निकुञ्जको खोरमा राखिएको उनले बताए । 

यस्तै त्रिवेणी क्षेत्रबाट एक गैँडालाई उद्धार गरी ल्याइएको छ । बर्दघाट–सुस्तापूर्वको त्रिवेणीमा बस्तीमा आएर अन्नबाली नष्ट गर्ने, मानिसलाई लखट्ने, समयसमयमा भारततर्फ जाने गरेका कारण गैँडालाई उद्धार गरी निकुञ्जको पूर्वी क्षेत्र सौराहामा ल्याएर छाडिएको छ । मानिसले प्रतिशोधका कारण मार्नसक्ने देखिएपछि गैँडाको उद्धार गरिएको उनले जानकारी दिए ।  
    
निकुञ्ज क्षेत्रबाट बस्ती पसेका अजिङ्गरलाई विगत पाँच महिनामा उद्धार गरिएको छ । बस्तीमा पसी घरपालुवा जनावर खाने, त्रासको वातारण सिर्जना गर्ने गर्न लागेपछि ती अजिङ्गरलाई उद्धार गरी पुनःनिकुञ्जको सुरक्षित स्थानमा ल्याएर छाडिएको तिवारीले जानकारी दिए । 

यस्तै स्थानीयले माछापालनका लागि बनाएका पोखरीमा गएका मगर गोहीलाई उद्धार गरिएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । नदी आसपासमा रहेका माछा पोखरीमा गएर माछा खाएर जनतालाई दुःख दिने गरेका ती गोहीलाई उद्धार गरी पुनःनदीमा ल्याएर छाड्ने गरिएको उनले बताए ।