चितवन । चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य छन् ।
उद्धार गरिएका जनावारमध्ये सबैभन्दा बढी अजिङ्गर छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ८८ अजिङ्गरको उद्धार गरिएको छ । चार बाघ, एउटा गैँडा, चार मगर गोही र १२ अन्य जनावर रहेका छन् । यी जनावरलाई निकुञ्ज बाहिर गएर जनतालाई दुःख दिइरहेको अवस्थामा उद्धार गरिएको हो । कतिपयलाई घाइते भएको अवस्थामा समेत उद्धार गरिएको उनले जानकारी दिए।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएका बाघले बस्ती पसेर जनतालाई दुःख दिएको र सामुदायिक वनमा घाँस दाउरा गर्न गएका मानिसलाई आक्रमण गरी मानवीय क्षति गरेको अवस्थाबाट उद्धार गरी ल्याइएको हो । उद्धार गरी ल्याइएका बाघलाई निकुञ्जको खोरमा राखिएको उनले बताए ।
यस्तै त्रिवेणी क्षेत्रबाट एक गैँडालाई उद्धार गरी ल्याइएको छ । बर्दघाट–सुस्तापूर्वको त्रिवेणीमा बस्तीमा आएर अन्नबाली नष्ट गर्ने, मानिसलाई लखट्ने, समयसमयमा भारततर्फ जाने गरेका कारण गैँडालाई उद्धार गरी निकुञ्जको पूर्वी क्षेत्र सौराहामा ल्याएर छाडिएको छ । मानिसले प्रतिशोधका कारण मार्नसक्ने देखिएपछि गैँडाको उद्धार गरिएको उनले जानकारी दिए ।
निकुञ्ज क्षेत्रबाट बस्ती पसेका अजिङ्गरलाई विगत पाँच महिनामा उद्धार गरिएको छ । बस्तीमा पसी घरपालुवा जनावर खाने, त्रासको वातारण सिर्जना गर्ने गर्न लागेपछि ती अजिङ्गरलाई उद्धार गरी पुनःनिकुञ्जको सुरक्षित स्थानमा ल्याएर छाडिएको तिवारीले जानकारी दिए ।
यस्तै स्थानीयले माछापालनका लागि बनाएका पोखरीमा गएका मगर गोहीलाई उद्धार गरिएको निकुञ्जको तथ्याङ्कले देखाएको छ । नदी आसपासमा रहेका माछा पोखरीमा गएर माछा खाएर जनतालाई दुःख दिने गरेका ती गोहीलाई उद्धार गरी पुनःनदीमा ल्याएर छाड्ने गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० पुस २०७८, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
चितवन राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकको आकर्षण बढ्यो, विदेशी आगमनमा कमी
वन्यजन्तु संरक्षण गर्न कृत्रिम ताल निर्माण
चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
चितवनका दुई हात्ती कतार पठाइँदै
वर्षे सुरक्षामा जुट्यो चितवन राष्ट्रिय निकुञ्ज