साफ यू-१९ महिला फुटबलमा भुटानलाई हराउने दाउमा नेपाल

सफल खबर संवाददाता

शुक्रबार, ०२ पुस २०७८, ०८ : ३८
साफ यू-१९ महिला फुटबलमा भुटानलाई हराउने दाउमा नेपाल

काठमाडौं । सुरुआती दुई खेलबाट ४ अंक जोड्दै उपाधि यात्रा कायम राखेको नेपालले साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्दैछ ।  

बंगलादेशको ढाकामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ । भुटानविरुद्ध मैदानमा उत्र्दा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना कायम राख्न नेपाललाई भुटानविरुद्ध जितको विकल्प छैन । 

भुटान समेत नेपालसँगको हारले उपाधि होडबाट बाहिर रहनेछ । ५ टोली सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा लगातार दुई खेल जितेको भारत ६ अंकसहित शीर्ष स्थानमा छ । ४ अंक जोडेका बंगलादेश र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

भुटानले तीन खेलबाट ३ अंक जोडेको छ । लगातार तीन खेलमा हारसहित १६ गोल बेहोरेको श्रीलंका एक खेलअघि नै उपाधि होडबाट बाहिरिसकेको छ । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग गोलरहित बराबरी रोकिएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको थियो । 

पहिलो खेलमा श्रीलंकालाई ५-० ले पराजित गरेको भुटान दोस्रो खेलमा बंगलादेशसँग ६(० ले हारेको थियो। 

प्रतिक्रिया दिनुहोस