चार वर्षपछि १७ हजार शिक्षक लिइँदै

पत्रपत्रिकाबाट

बुधबार, २९ मंसिर २०७८, ०८ : २२
चार वर्षपछि १७ हजार शिक्षक लिइँदै

काठमाडौँ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका लागि १७ हजार २ सय ३२ स्थायी शिक्षक नियुक्ति गर्ने प्रक्रिया बढाएको छ । चार वर्षपछि शिक्षक नियुक्तिको विज्ञापन खुलाउन लागिएको हो । आयोगले बुधबार माध्यमिक तहमा १ हजार ५ सय ४७ जना शिक्षक लिन विज्ञापन प्रकाशन गर्दै छ ।
आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले पहिलो पटक अनलाइनबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको बताए । यसअघि साविकको जिल्ला शिक्षा कार्यालयमा आवेदन लिइन्थ्यो । अर्को सातासम्म क्रमशः निम्न माध्यमिक र प्राथमिक तहको पनि विज्ञापन खुलाइने उनले बताए । ‘अनलाइनबाट पहिलो पटक दरखास्त संकलन गर्न लागिएकाले मावि, निमावि र प्राविको एकै दिन विज्ञापन गर्न सकिएन,’ उनले भने, ‘२र४ दिनको फरकमा तीनै तहको विज्ञापन गर्ने कार्ययोजना बनाएका छौं ।’

मावि र निम्न माध्यमिक तहको विषयअनुसार प्रदेशगत रूपमा र प्राविको जिल्लागत रूपमा विज्ञापन गरिने आयोगले जनाएको छ । माध्यमिक तहमा १५ विषयका लागि दरखास्त आह्वान गरिँदै छ । सबैभन्दा बढी विज्ञान विषयको शिक्षकका लागि विज्ञापन गर्न लागिएको हो । निमावि तहमा २ हजार ५ सय ९६ र प्राविमा १३ हजार ८९ दरबन्दी रिक्त छ । यी पदका लागि विज्ञापन खोलिने आयोगले जनाएको छ । निमाविमा ११ वटा विषयका लागि विज्ञापन हुनेछ ।

आयोगले नियमावली संशोधन गरेर सामान्य परीक्षा पास गरे मात्र विषयगत परीक्षामा सहभागी हुने व्यवस्था राखेको छ । यसअघि एक सय पूर्णाङ्कको मात्र लिखित परीक्षा हुन्थ्यो । ‘यस पटकबाट सय पूर्णाङ्कको सामान्य परीक्षा पास गरे मात्र अर्को सय पूर्णाङ्कको विषयगत परीक्षामा सहभागी हुन पाइनेछ,’ आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले भने । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस