ए डिभिजन लिग : सातदोबाटोको अपराजित यात्रामा पूर्णबिराम

सफल खबर संवाददाता

शनिबार, २५ मंसिर २०७८, १५ : १४
ए डिभिजन लिग : सातदोबाटोको अपराजित यात्रामा पूर्णबिराम

काठमाडौं  । विदेशी खेलाडी स्टेफन समिरको निर्णायक गोलमा न्युरोड टिम एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिग-२०७८ मा पहिलो जित निकालेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा एनआरटीले नव प्रवेशी सातदोबाटो युथ क्लबलाई १–० अन्तरले पराजित गरेको हो । मेसुके ओलोउमोउले मिलाएको पासलाई ४५ मिनेटमा समिरले सदुपयोग गर्दै बक्सभित्रबाट सहज गोल गरे । 

बाँकी समय दुबै टोलीले गोलका केही अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । पहिलो जितपछि चार खेलबाट ५ अंक बनाउँदै एनआरटी सातौं स्थानमा उक्लिएको छ । यता, अपराजित यात्रामा पूर्ण बिराम लागेको सातदोबाटो चार खेलबाट ७ अंक बनाउँदै तेस्रो स्थानमा यथावत  छ ।  पराजित भएसँगै सातदोबाटो शीर्षस्थानमा उक्लन असफल भयो । चार खेबलाट १० अंक बनाएको मनाङ मर्स्याङ्दी क्लब शीर्षस्थानमा छ । 

 

प्रतिक्रिया दिनुहोस