कांग्रेस महाधिवेशन : देउवा ढुक्क, इतर पक्षमा निराशा

सफल खबर संवाददाता

विहीबार, २३ मंसिर २०७८, २१ : २३
कांग्रेस महाधिवेशन : देउवा ढुक्क, इतर पक्षमा निराशा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो एक बजे महाधिवेशनको उद्घाटन हुने छ । 

महाधिवेशनमा पार्टीले आगामी दिनमा लिने नीति, योजना, पार्टी र संगठन निर्माण, देश बनाउने खाका लगायतका विषयमा विचार मन्थन हुनु पर्ने भएपनि सबैको ध्यान आगामी नेतृत्व कसको हातमा पुग्छ भन्नेमा नै केन्द्रित रहेको पाइन्छ ।

१३ औं महाधिवेशनमा विजयी सभापति देउवा पुन: अर्को पाँच वर्ष पार्टीको कमाण्ड हाक्ने दाउमा रहँदा इतर पक्ष उनीबाट नेतृत्व फुस्काउने दाउमा रहेको छ । 

देउवालाई यसअघि दरो साथ दिएका विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेसँगै देउवा केही कमजोर भएको भन्दै उत्साही वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष महाधिवेशन नजिकएसँगै निराश बन्दै गएको छ ।  इतर पक्षमा निराशा छाउनुमा मुख्यत तीनवटा कारण रहेका छन् ।

पहिलो, संस्थापन पक्षमा देउवाको विकल्पमा अन्य कोही सभापतिको आकांक्षामा नरहँदा उनी बलिया देखिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि विभिन्न तहमा भएका निर्वाचन, जिल्ला र क्षेत्रका सभापतिमा देउवा बलियो देखिएको बेला उनको मत काट्ने खालको उम्मेदवार नहुँदा उनी कमजोर छैनन् । उनलाई पराजित गर्न 'एक मन एकता' हुनुपर्ने पौडेल पक्षले बुझेको छ। तर, त्यसो हुन सकिरहेको छैन । 

दोस्रो, इतरपक्षमा चारजना सभापतिका आकांक्षी छन् । गत महाधिवेशनमा देउवासँगै पराजय व्यहोरेका रामचन्द्र पौडेल, कोइराला परिवारको उत्तराधिकारी ठान्ने शेखर र शशांकका साथै बारम्बार त्याग गर्दै आएको बताउने प्रकाशमान सिंह।

चारै जनाले सभापतिको दाबेदारी नछाड्दा साझा उम्मेदवार बनाउने प्रयास कमजोर बन्दै गएको हो कि भन्ने आशंका देखिएको छ । 
प्रकाशमानले कुनै पनि हालतमा नछाड्ने बताइसकेका छन् । उनले प्रतिनिधिले नै अब टुंगो लगाउने बिहीबार बताएका छन् । शनिबार आफूले उम्मेदवारी दर्ता गर्ने उनको भनाइ छ । 

'कांग्रेसको रक्षा गर्ने नै कोइरालाले हो' भन्दै आफू पक्षधरले भनेपछि शेखर कोइराला प्रकाशमान उठे पनि आफू पछि नहट्ने बताइरहेका छन् । दुवै जना उम्मेदवारीबाट पछि नहट्ने हो भने इतर पक्षको मत महाधिवेशनमा विभाजन हुने छ । यसले गर्दा विशेषगरि देउवालाई पार्टीको कमाण्डबाट बिदा गर्न चाहिरहेका इतर पक्षका नेता कार्यकर्तामा निराशा छाएको छ । यद्दपी नेताहरु सघन छलफलमा रहेकाले साझा उम्मेदवार चयन हुने सम्भावना भने बाँकी नै रहेको छ । 

इतर पक्षमा साझा उम्मेदवार चयन हुन नसक्दा देउवा भने ढुक्क देखिएका छन् । उनी निकटका नेताहरुले त देउवाले पहिलो चरणमै जीत निकाल्ने भएकाले गत महाधिवेशनमा जस्तो यसपटक दोस्रो चरणमा निर्वाचन गर्नु नपर्ने अवस्था आउने बताइरहेका छन् । 

तेस्रो, नेता कृष्णप्रसाद सिटौलाले अहिलेसम्म संस्थापन/इतर पक्ष कता लाग्ने वा आफैं प्यानल बनाएर महाधिवेशनमा भिड्ने भन्ने खुलाएका छैनन् । सहयोग माग्न भनेर बुधबार उनको निवास पुगेका नेता पौडेललाई उनले सकारात्मक जवाफ दिएनन् । त्यसमा पनि उनी पक्षका अधिकांश नेताले संस्थापन पक्षसँग मिलेर अघि बढ्नु पर्ने सुझाव दिइरहेका छन् ।

महाधिवेशन प्रतिनिधिको संख्याको हिसावले धेरै नभएपनि अन्तिम प्रतिस्पर्धामा उनी निर्णायक बन्न सक्ने सम्भावना रहेको कतिपयको बुझाइ छ । इतर पक्षमा आफूहरुबीच नै नेतृत्व बाँटफाँटमा समस्या भइरहेको बेला उनी तर्फका नेताको व्यवस्थापन त्यति सहज बन्ने देखिएको छैन । यसअघि पार्टीमा विवाद हुँदा इतरपक्षसँग नजिक रहेन गरेपनि निर्णायक बेलामा सिटौलाले देउवालाई साथ दिँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस