सौराहामा आन्तरिक पर्यटक बढेसँंगै हात्तीपालक ब्यवसायी उत्साहित

प्रकाश सिग्देल

बुधबार, २२ मंसिर २०७८, २० : २१
सौराहामा आन्तरिक पर्यटक बढेसँंगै हात्तीपालक ब्यवसायी उत्साहित

चितवन । कोरोना भाईरसका कारण करिव २ वर्षदेखि फुर्सदिला बनेका सौराहाका हात्तीहरु यतिबेला भने पर्यटकलाई जंगलमा सफारी गराउन ब्यस्त बनेका छन् । पर्यटक पिठ्युँमा बोकेर जंगल घुमाउने र पर्यटकलाई पर्यापर्यटनमा भरपुर आनन्द दिलाउन प्रयोग भएका हात्तीहरु कामविहीन हुँदा सौराहाका ब्यवसायीलाई हात्ती पाल्नै सकस भएकोे थियो ।

सौराहा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटक दुर्लभ एक सिङे गैंडालगायतका वन्यजन्तु अवलोकन गर्न हात्ती सफारी गर्छन् । एमाले महाधिवेशनसँगै आन्तरिक पर्यटककको चहलपहल सौराहमा हवात्तै बढेपछि हात्तीहरु कामकाजी बनेका छन् भने व्यवसायीहरुसमेत उत्साही बनेका छन् ।

पछिल्लो एक महिना यता सौराहमा आन्तरिक पर्यटक बढेको र यसले हात्तीहरु कामकाजी बनेपछि केही उत्साह जागेको होटल जंगल भिष्टाका सन्चालक ढुन्डीराज सिलवालले बताए । बिगतमा हात्ती पाल्न निकै सकस भएकोमा अब भने आशा जगाएको उनले बताए । २०५२ सालदेखी दुई वटा हात्ती पालेर सफारी गराउँदै आएका उनले कोरोनाका कारण कहिल्यै नभोगेको आर्थिक संकट भोग्न परेको बताए । सिलवालका अनुसार  एउटा हात्ती पाल्न मासिक ६० हजार भन्दा बढी खर्च हुने गरेको छ ।  उनीसँग कान्छी र लक्ष्मीकली नामका दुई हात्ती छन्  ।

एउटा हात्तीका लागि दिनमा घाँस, पराल, पचास लिटर पानी, २० केजी धान वा गहुँको कुची, एक किलो चना र एक पाउ नुनसहित सक्कखर आवश्यक पर्छ । पर्यटक बोकेपछि हात्तीले ब्यवसायीलाई ब्यवसायीक सफलता संगै लाखौँ आम्दानी पनि दिने गरेका छन् । हात्तीकै कारण सौराहाको पर्यटन व्यवसाय फस्टाएको हो । सौराहाको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था मातहत ३३ र बाहिर केही होटलको पनि  १५ वटा जती हात्तीले पर्यटकलाई सफारी गराउने गरेको पर्यटन ब्यवसायी रमेश सिल्वालले बताए ।  यहा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था मार्फत पर्यटकलाई सफारी गराईने गरिएको उनको भनाई छ ।

सौराहामा धेरै जसो होटलले आफैँ हात्ती पालेका छन् भने कतिपय  होटेलले सहकारीका हात्ती प्रयोग गर्दै आइरहेका छन्  । व्यक्ति विशेषले पालेका निजी हात्तीहरू सहकारीमार्फत जंगलमा पर्यटक घुमाउन प्रयोग हुँदै आइरहेको छ । ब्यवसायीले हात्ति सफारी मार्फत मात्रै लाखौ रुपैया राजस्व समेत तिर्ने गरेको बताए । चितवनमा सौराहाका अलावा मेघौलीमा पनि हात्ती चढाएर पर्यटकलाई जंगल सफारी गराउने काम हुन्छ । यस्तै, नवलपुर जिल्लाको अमलटारीमा पनि हात्ती सफारी गराइन्छ । 

प्रतिक्रिया दिनुहोस