राष्ट्रियसभाको चुनाव प्रक्रिया पुस १७ देखि

सफल खबर संवाददाता

बुधबार, २२ मंसिर २०७८, ०७ : ४९
राष्ट्रियसभाको चुनाव प्रक्रिया पुस १७ देखि

काठमाडौं । निर्वाचन आयोगले रिक्त हुन लागेका राष्ट्रियसभाका एकतिहाइ सदस्यकोे पूर्तिका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक कार्यक्रमअनुसार पुस १७ देखि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ।

राष्ट्रिसभामा चार वर्षे कार्यकाल सकिने २० सांसदका लागि माघ १२ मा निर्वाचन गर्न लागिएको छ। अहिले रिक्त हुन लागेका सांसदमध्ये नेकपा एमालेका ७ जना कांग्रेसका ३,माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका ४,राष्ट्रपतिबाट मनोनित १ जना छन्।

निर्वाचन आयोगले राष्ट्रियसभाका सांसदका लागि मतदाता नामवली प्रकाशन पुस १७ गते गर्नेछ भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय पुस २० गते राखेको छ।

प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा राष्ट्रियसभाका सदस्य छनोट हुनेछन्। प्रदेशसभाका सदस्य गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक राखिएको छ।

उम्मेदवारको मनोनयनको लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय राखिएको छ। त्यसैदिन उम्मेदवारको सूची प्रकाशित गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। नामावलीमाथिको दाबी विरोधको उजुरी दिनका लागि पनि १७ गते नै समय तोकिएको छ भने उजुरीउपर छानबिन र कारबाही गर्ने समय पुस १८ र १९ गते तोकिएको छ।

अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम १९ गते नै तोकिएको छ। उमेद्वारको विरोधमा उजुरी लिनका लागि पुस २१ गतेको समय तोकिएको छ भने जाँचबुझ गरी निर्णय गर्ने समय २२ देखि २३ गतेसम्म राखिएको छ। नागरिक दैनिकमा खबर छ ।