देउवाले विश्वप्रकाशलाई भने– बुढापाकालाई अर्ति दिने होइन, सुन्ने हो

सफल खबर संवाददाता

मंगलबार, १४ मंसिर २०७८, १८ : २४
देउवाले विश्वप्रकाशलाई भने– बुढापाकालाई अर्ति दिने होइन, सुन्ने हो

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणामाथि लेखिएको ‘राजनेता सुवर्णशमशेर’ नामक पुस्तक मंगलबार सार्वजनिक भयो ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा रामचन्द्र घिमिरेद्वारा लिखित पुस्तक लोकार्पण गरे। कार्यक्रमका सहभागीको मुख्य चासो भने प्रवक्ता विश्वप्रकाश शर्माको मन्तव्य र त्यसमाथि देउवाको जवाफमा केन्द्रित देखियो ।

कांग्रेस प्रवक्ता शर्माले मन्तव्यका क्रममा आफूले महामन्त्रीको उम्मेदवारी घोषणा गरेपछि राखेको राजनीतिक प्रस्तावको व्याख्या गरे । सभापति देउवालाई ‘एउटा सल्लाह दिन चाहन्छु’ भन्दै शर्माले १ पटकभन्दा बढी राष्ट्रपति, २ पटकभन्दा बढी प्रधानमन्त्री, ३ पटकभन्दा बढी मन्त्री र ४ पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव आफ्नो पुस्ताका लागि गरेको बताए ।

‘मैले राजनीति बदल्ने प्रस्ताव बोकेर धेरै जिल्ला पुग्दा साथीहरूले शेरबहादुर देउवा त ५ पटक प्रधानमन्त्री भइसके विश्वप्रकाशको पुस्ताले त्यो अवसर र क्षमता राख्छ त ? भनेर सोध्नुहुन्छ । हाम्रो सभापतिलाई ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्ने भनेको होला तर मैले मेरो पुस्तालाई २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव गरेको छु’, शर्माले भने ।

प्रमुख अतिथिका रूपमा मन्तव्य दिँदै गर्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले प्रवक्ता शर्माको जवाफ फर्काए । शर्माले ‘सल्लाह दिन्छु’ भनेको तर्फ संकेत गर्दै देउवाले अर्ती दिने काम बुढापाकाको भएको बताए । ‘बुढापाकालाई अर्ति दिने होइन, बुढापाकाको अर्ती सुन्ने हो । हतार नगर्नुस्, अर्ती दिने हैन लिनुस्’, देउवाले भने ।

उनले शर्माको प्रस्ताव भन्न सजिलो तर गर्न गार्‍हो’ रहेको बताए । ‘अरुलाई भन्न त सजिलो छ आफ्नो लागि हो भने गार्‍हो छ । हतार नगर्नुस् क्या पालो आउँछ’, देउवाले भने । देउवाले शर्माको जवाफ फर्काउँदा सभागृहमा हाँसो गुञ्जिएको थियो । कार्यक्रममा बोल्ने क्रममा सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीमा सहमतिका नाममा निर्णय ढिलो हुँदा पार्टीमा समस्या आएको बताएका थिए । महतलाई जवाफ दिँदै देउवाले आफू हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने नेता नभएको बताए ।
 

प्रतिक्रिया दिनुहोस