विलासिताका वस्तुमा अंकुश

पत्रपत्रिकाबाट

सोमबार, ०६ मंसिर २०७८, ०८ : ३३
विलासिताका वस्तुमा अंकुश

काठमाडौं । सरकारले विलासिताका महँगा वस्तु आयातमा अंकुश लगाउने भएको छ । उच्च व्यापार घाटा तथा विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले विलासी वस्तुको आयात रोक्न तथा निरुत्साहित गर्ने गृहकार्य अघि बढाएको हो  ।

उच्च आयातका कारण बैंकिङ प्रणालीमा तरलता अभाव हुने मात्रै नभई भुक्तानी सन्तुलन र चालू खाता घाटासमेतमा चाप परेपछि सरकारले आयात निरुत्साहनको नीति लिँदै विलासी वस्तु आयातमा अंकुश लगाउने तयारी गरेको हो ।

सुन चाँदी आयातमा निरुत्साहन

जसका लागि सरकारले खासगरी विलासिताका रूपमा हेरिएका वस्तुहरू जस्तै, सुन, चाँदी, महँगा गाडीलगायतका आयातलाई निरुत्साहित गर्ने भएको छ । सरकारले यसअघि केराउ, मरिच, छोकडालगायतका आयातमा लगाइएको बन्देजलाई समेत निरन्तरता दिएको छ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आयात नियन्त्रण गर्न नभई मुलुकको वर्तमान अवस्थालाई समेत ध्यान दिई केही वस्तुहरूमा नियमन गर्नुपर्ने देखिएकाले सरकारले यस्तो तयारी गर्न लागेको बताए ।

उता भन्सार विभागले पनि गत बुधबार सूचना प्रकाशन गरी विदेशबाट फर्किएका यात्रुले ल्याउने सुनमा कडाइ गर्ने संकेत गरेको छ  । विद्यमान कानुनअनुसार विदेशबाट फर्किएका यात्रुले ५० ग्राम तौलसम्मका गरगहना ल्याउन पाउने व्यवस्था छ । तर, विभागले राजस्व छल्ने नियतले सुन ल्याएमा कारबाही गर्ने चेतावनी दिएको छ ।

‘विदेशबाट फर्केका यात्रुले सुनको स्पष्ट घोषणा नगरिएको तथा सुनलाई गहना भनी घोषणा गरी राजस्व छल्ने गरेको भन्ने सूचना प्राप्त भएको छ,’ विभागको सूचनामा उल्लेख छ, ‘कसैले स्पष्ट घोषणा नगरी राजस्व छल्ने नियतले सुन साथमा ल्याएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बेहोरा सबैमा सूचित गरिन्छ ।’ राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस