कांग्रेस महाअधिवेशन : देउवापत्नी आरजुको क्षेत्रमा तँछाडमछाड

पत्रपत्रिकाबाट

शुक्रबार, ०३ मंसिर २०७८, ०७ : ५०
कांग्रेस महाअधिवेशन : देउवापत्नी आरजुको क्षेत्रमा तँछाडमछाड

काठमाडौं । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाको चुनाव क्षेत्र कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवार बन्न कांग्रेसी नेताहरूको तँछाडमछाड चलेको छ।

सुदूरको राजनीतिक केन्द्रको रूपमा हेरिएको प्रदेश राजधानी रहेको धनगढी उपमहानगरपालिका सहितको निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गर्नेहरूको लहर चलेको हो।

मंसिर ६ मा हुने क्षेत्रीय अधिवेशनका लागि कांग्रेस सभापति देउवापत्नी आरजुको क्षेत्रमा चिनिन र नजिकिन पनि उम्मेदवारी घोषणा गर्नेको ताँती नै लागेको हो। अहिलेसम्म क्षेत्रीय सपभाति पदका लागि भीम पडाल,हरि रेग्मी, सन्तोष मुडभरी,बुद्धिबहादुर खड्का, हीरासिंह पातली, रूपबहादुर खड्का र ईश्वर जोशीले उम्मेदवारी घोषणा गरेका छन्। एक पदका लागि अहिलेसम्म सातजनाले घोषणा गरिसकेको बताउँदै १४औं महाधिवेशन प्रचारप्रसार समितिका संयोजक नृप सुनारले भने, ‘अहिलेसम्म देखिएका अनुहार यिनै हुन्, तै पनि उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ।’

सभापति देउवापत्नी आरजुको कैलाली क्षेत्र नम्बर ५ निर्वाचन क्षेत्र रहेको क्षेत्रमा आफू सपभाति भएमा केन्द्रसँगको राजनीतिक सामिप्यता हुने भएकाले नेतृत्व लिनका लागि नेताहरूको तँडाछमछाड हुनु स्वभाविकै भएको बताउँदै प्रचारप्रसार समिति संयोजक सुनारले भने,‘प्रदेशकै राजधानी भएको र पश्चिम क्षेत्रमै सबैको आँखा धनगढीमै लाग्ने भएका कारण पनि यहाँको नेतृत्व आकर्षणको केन्द्र बनेको हो।’  

आरजुको क्षेत्रमा सपभाति पदका लागि उम्मेदवारी दिँदा केन्द्रीय नेताहरूको चासो र चर्चाको विषय बन्ने भएकाले पनि यहाँ उम्मेदवारी घोषणा गर्नेहरूको ताँती लागेको बताउँदै एकजना कांग्रेस नेताले भने, ‘आरजुको क्षेत्रमा उम्मेदवारी दिँदा केन्द्रीय नेताले उम्मेदवारी फिर्ता लिनका लागि फोन गर्ने भएकाले फोनकै प्रतीक्षाका लागि पनि उम्मेदवारी घोषणा गर्ने लहर चलेको हो।’ नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस