एमालेको १० औं महाधिवेशन : पदाधिकारी चयन पेचिलो बन्दै

पत्रपत्रिकाबाट

विहीबार, ०२ मंसिर २०७८, ०८ : ०६
एमालेको १० औं महाधिवेशन : पदाधिकारी चयन पेचिलो बन्दै

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म हुने १०औं महाधिवेशनका लागि पदाधिकारी चयनको विषय पेचिलो बन्दै गएको छ । पदाधिकारीका आकांक्षीहरू बढ्दै गएपछि सहमतिबाटै पदाधिकारी चयनको प्रक्रिया पेचिलो बन्दै गएको छ ।

पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई सकेसम्म सर्वसम्मत गरिने गृहकार्य अगाडि बढेको छ । अध्यक्षमा उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले उम्मेदवारी दिए पनि जित्ने सम्भावना छैन । अध्यक्षमा ओली सर्वसम्मत बनेको अवस्थामा पदाधिकारी र केन्द्रीय सदस्यको चयन पनि सहमतिबाटै अगाडि बढ्ने बताइएको छ । पदाधिकारीमा आकर्षक मानिएको महासचिव पदका लागि विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतले चाहना राखेका छन् । 

हालकै समीकरणलाई कायमै राख्नका लागि अध्यक्ष ओलीले माधव नेपालको साथ छाडेर पार्टीमै रहेका १० नेताको व्यवस्थापन गर्नुपर्ने चुनौती पनि कायमै रहेको छ । त्यसै गरी, पूर्वमाओवादीबाट आएका नेताहरूलाई पनि पदाधिकारीमा समावेश गर्नुपर्ने दबाब ओलीमाथि छ ।

पूर्वमाओवादी र नेपालको साथ छाडेर पार्टीमै बसेका नेताहरूले आगामी महाधिवेशनमा निर्वाचन नगरी सहमतिबाटै नेतृत्व चयन गर्न ओलीमाथि दबाब बढाइरहेका छन् । निर्वाचन भएको अवस्थामा ओली निकट नेताहरूले मात्र निर्वाचन जित्ने र आफूहरू पाखा लाग्ने चिन्ता यी दुई समूहको छ ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवाली सकेसम्म सहमतिबाटै पदाधिकारी चयन गरेर पार्टी एकताको सन्देश दिन प्रक्रिया अगाडि बढेको बताए । उनले भने–‘हामी सहमतिकै पक्षमा छौं । वडा अधिवेशन, पालिका अधिवेशन र प्रतिनिधि चयन सहमतिबाटै ग¥यौं, अब महाधिवेशनमा पनि सहमतिबाटै पदाधिकारी चयन गरौं भन्नेमा जोड छ ।’

प्रतिक्रिया दिनुहोस