काँग्रेस महाधिवेशन

सहमति भन्दै आरोप–प्रत्यारोपमा

पत्रपत्रिकाबाट

विहीबार, ०२ मंसिर २०७८, ०७ : ५२
सहमति भन्दै आरोप–प्रत्यारोपमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा स्थापित हुन सातै प्रदेशमा आफू निकटलाई जिम्मेवारी तोक्दै तयारी तीव्र पारेका छन्।

तर तीन वर्षदेखि पार्टी नेतृत्वबाट देउवालाई विस्थापित गर्नुपर्ने बताउँदै आएका संस्थापन (देउवा) इतरका नेताहरूबीच अहिले संवाद पनि हुन छाडेको छ। प्रधानमन्त्रीसमेत रहेका देउवालाई टक्कर दिन साझा उम्मेदवार बनाउने बताउँदै आएका नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइरालासहितका संस्थापन इतरका नेताहरू भने तितरबितर भएका छन्।

संस्थापन इतर पक्षका नेताहरूले २०७४ सालमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि देउवालाई नेतृत्वबाट हटाउनुपर्ने भन्दै सुरुमा विशेष महाधिवेशन,त्यसपछि अर्ली महाधिवेशन र पछि विधानले व्यवस्था गरेको चार वर्षभित्रै महाधिवेशनको वकालत गर्दै आएका थिए।

तर पार्टी विधानले दिएको अतिरिक्त एक वर्षको समय मात्र होइन, संवैधानिक सीमाभित्र पनि महाधिवेशन गराउन नेतृत्वलाई दबाब दिन संस्थापन इतर नेताहरू असफल बने। माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीहरूले अद्यावधिक वितरण बुझाउनैपर्ने भएपछि कांग्रेसले मंसिर २४ र २५ गते नयाँ नेतृत्व मात्र चयन गर्नेगरी महाधिवेशन गर्न लागेको छ।

महाधिवेशन सुरु हुन तीन साता मात्र बाँकी रहँदा साझा उम्मेदवार बनाउन तल्लो तहबाट संस्थापन इतरका नेताहरूमाथि दबाब बढ्दै गएको छ। तर नेता तथा कार्यकर्ताको दबाब र आग्रहलाई बेवास्ता गर्दै जिल्ला दौडाहामा निस्केका सभापतिका आकांक्षी वार्तामा बस्नुको साटो आरोप–प्रत्यारोपमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस