मलेसिया रोजगारी अझै अन्योलमा

पत्रपत्रिकाबाट

मंगलबार, ३० कार्तिक २०७८, ०८ : ४१
मलेसिया रोजगारी अझै अन्योलमा

काठमाडौं । अर्को महिनादेखि पुनः सुरु गर्ने भनिएको मलेसिया रोजगारी कोरोना महामारी लगायत अन्य समस्याले अझै अन्योलमा छ।मलेसियास्थित नेपाली राजदूतावासका अनुसार सर्तसहित खोल्ने भनिएको रोजगारी सुरु हुन अझै केही समय लाग्ने देखिएको छ।

दूतावासका श्रम काउन्सेलर दीपक ढकालका अनुसार रोजगारी सुरु गर्ने विषयमा अहिलेसम्म मलेसिया सरकारले कुनै जानकारी दिएको छैन। रोजगारदाताले पनि कसैको मागपत्र प्रमाणीकरण गरेका छैनन् ।कुनै पनि गन्तव्य मुलुकका रोजगारदाताले श्रमिक आपूर्ति गर्दा सबभन्दा पहिला सम्बन्धित मुलुकमा रहेका दूतावासले कामदारको मागपत्र प्रमाणीकरण गर्नुपर्छ।

मागपत्र प्रमाणीकरण गर्नुको उद्देश्य खराब कम्पनीमा नेपाली श्रमिक जान नपाउन भनेर हो। ढकालले रोजगारदाताले नेपाली श्रमिक बोलाउन उपल्लो निकायमा दबाब दिने काम गरिरहेकाले अर्को महिनासम्म केही निर्णय हुन सक्ने अनुमान गरे।

‘अचेल मलेसियामा विदेशी कामदारको अभाव छ,’ उनले भने, ‘त्यही भएर सम्झौता अवधि सकिएका श्रमिकलाई पनि रोजगारदाताले घर फर्कन दिइरहेका छैनन्। नयाँ कामदारलाई अनुमति दिए सबैलाई सजिलो हुने देखिन्छ।’ मलेसियामा अझै कोरोना महामारी कायमै रहेकाले तत्काल विदेशी कामदारलाई भित्र्याउने वा भित्र्याउने तथा भित्र्याउँदा सुरक्षाका कस्ता मापदण्ड अपनाउने भन्नेबारे अन्योल देखिएको उनको भनाइ छ।

हालसम्म श्रम स्वीकृति जारी भएको संख्याको आधारमा सबभन्दा ठूलो गन्तव्य मलेसिया हो। कोरोना महामारी सुरु भएदेखि नेपाली कामदार मलेसिया जान पाएका छैनन्। वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर करिब १० लाख नेपाली मलेसिया रोजगारीमा गएका छन्। तीमध्ये अझै करिब दुई लाख जति मलेसियामै रहेको ढकालको भनाइ छ। ‘महामारीकै अवधिमा करिब एक लाख घर फर्किएका छन्,’ उनले भने। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस