सिभिल ग्रुप ठगी प्रकरण: ५ अर्ब ५३ करोड २६ लाख ठगीको जाहेरी

पत्रपत्रिकाबाट

मंगलबार, ३० कार्तिक २०७८, ०७ : २४
सिभिल ग्रुप ठगी प्रकरण: ५ अर्ब ५३ करोड २६ लाख ठगीको जाहेरी

काठमाडौं । सिभिल ग्रुपको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी आउने क्रम बढ्दै गएको छ ।

गत १४ कात्तिकसम्ममा सिभिल ग्रुपबाट ठगिएको भन्दै सीआईबीमा १३ सय ६४ जनाको जाहेरी परेकोमा सोमबारसम्म आइपुग्दा १४ सय ४१ जनाले ठगिएको भन्दै जाहेरी दिएका छन् ।

तीन वर्ष अघिदेखि रकम फिर्ता नपाएको भन्दै सिभिल ग्रुपको ठगीका विषयमा जाहेरी पर्न थालेपछि सीआईबीले सो संस्थाका सञ्चालकसहितका कर्मचारीलाई पक्राउ गरेको थियो । हाल १२ जना पूर्वकर्मचारी र हाल कार्यरत कर्मचारी सीआईबीको अनुसन्धानको दायरामा छन् ।

सीआईबीले सिभिल ग्रुपका सञ्चालक तथा नेकपा एमालेका पूर्वसांसद इच्छाराम तामाङसहित १२ जनालाई थुनामा राखेरै अनुसनधान गरिरहेको छ । सीआईबीले उनीहरूविरुद्ध हालसम्म ५ अर्ब ५३ करोड २६ लाख ६९ हजार ४ सय ४२ रुपैयाँबराबरको ठगीका जाहेरी परेको जनाएको छ ।

सीआईबीका प्रमुख डीआईजी धिरजप्रताप सिंहले सोमबारसम्म १४ सय ४१ जनाले सीआईबीमा सिभिल ग्रुपविरुद्ध ठगी तथा रकम अनियमितताको जाहेरी दिएको जानकारी दिए ।

‘अहिलेसम्म १४ सय ४१ जनाबाट सिभिल ग्रुपविरुद्ध ठगीको जाहेरी आएको छ, हालसम्म ५ अर्ब ५३ करोड २६ लाख ६९ हजार ४ सय ४२ रुपैयाँ ठगी भएको जाहेरी परेको छ, थप अनुसन्धान जारी छ,’ सीआईबीका प्रमुख डीआईजी सिंहले राजधानीसँग भने ।

तामाङ सञ्चालक रहेको सिभिल ग्रुपले विभिन्न व्यक्तिबाट करोडौं रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा उजुरी परेपछि सीआईबीले मुख्य सञ्चालक तामाङसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै आइरहेको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस